२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

‘नवलपरासीमा औद्योगिक वातावरण छ, निर्धक्क उद्योग सञ्चालन गर्नुस्’

२०८० बैशाख १३, बुधबार प्रकाशित ( साल अघि) ५०३ पाठक संख्या

मोहन पौडेल
परासी, १३ वैशाख । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनाम बधाई तथा शुभकामना कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । संघले लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष बैजनाथ जयसवाल, हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित संघका अध्यक्ष केशव भण्डारी र महासंघ लुम्बिनी प्रदेश सदस्य वीरेन्द्र अग्रहरीको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले आर्थिक मन्दीकाबीच बैंकको चर्काे व्याजदरका कारण उद्योगी व्यवसायी धरासायी भएको गुनासो गरेका थिए । उनीहरुले अब आन्दोलन नगरी समस्या समाधान नहुने भएकोले आन्दोलनको विकल्प नभएको चेतावनी दिएका थिए ।
संघका पूर्वअध्यक्ष समेत रहनुभएका प्रदेशसभा सदस्य बैजनाथ जयसवालले चर्काे व्याजदर घटाउन सरकारले चासो लिनुपर्ने बताउनुभयो । सात प्रतिशतमा लगानी गरी १६ प्रतिशत व्याज लिने बैंकको प्रवृत्तिले व्यवसायीको ढाड भाँच्ने काम गरिएको उहाँले बताउनुभयो ।
प्रदेशसभा सदस्य जयसवालले नवलपरासी जिल्लामा औद्योगिकमय वातावरण भएकोले निर्धक्क उद्योग सञ्चालन गर्न उद्योगीलाई आग्रह गर्नुभयो । विगतमा जस्तो बन्द, हडताल, चक्जाम, चन्दा आतंक, लोडसेडिङ् लगायतका समस्या समाधान भएकोले यस जिल्लामा औद्योगिक वातावरण तयार भएको बताउनुभयो । उद्योगी व्यवसायीका समस्या समाधान गर्न आफूहरु जतिबेला पनि तयार रहेको भन्दै उहाँले भन्नुभयो, “तपाईहरु हाम्रो गहना हो, गहनालाई कसैले छुन खोजे हामी सहन सक्दैनौँ, हामीले तपाईहरुलाई माया गरेजस्तै संघलाई पनि तपाईहरुले माया गर्नुपर्छ”
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधी तिवारीले सरकारले व्यवसायीलाई हतोन्साहीत गर्न नहुने भन्दै व्याजदर लगायत उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न संघ तत्पर रहेको बताउँदै उद्योग क्षेत्रबाट पनि संघको नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य एवं संघका जिल्ला अध्यक्ष केशव भण्डारीले चर्काे व्याजदर घटाउन निरन्तर आवाज उठाईरहेको बताउँदै छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवलपरासीमा औद्योगिक वातावरण बनेको बताउँदै सरकारले छिट्टै औद्योगिक क्षेत्रको रुपमा घोषणा गर्ने जिकिर गर्नुभयो ।
नेपाल उद्योग वाण्ज्यि महासंघ लुम्बिनी प्रदेश सदस्य वीरेन्द्र अग्रहरीले व्यवसायीका समस्या समाधान गर्न महासंघ निरन्तर लडिरहेको बताउँदै सरकारले निजी क्षेत्रलाई झुक्याउने काम मात्र गरिरहेको दाबी गर्नुभयो । व्याजदर घट्छ भन्दै आश्वासन दिएर पाँच पैसा, दश पैसा घटाईएको भन्दै उहाँले आन्दोलनको विकल्प नभएको जिकिर गर्नुभयो ।
संघका कार्यबाहक अध्यक्ष ओमप्रकाश अग्रहरीको अध्यक्षता तथा महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम पश्चात आजै उद्योगहरुमा नवीकरणीय उर्जा तथा उर्जाको महत्वको विषयमा अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न गरिएको संघका महासचिव गिरीराज पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस