२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

कहिले बन्ला क्षतिग्रस्त कल्भर्ट?हुलाकी आयोजना भन्छ–तीन पटक सूचना निकाल्दा ठेक्का परेन्

२०८० बैशाख १२, मंगलबार प्रकाशित ( साल अघि) ४९३ पाठक संख्या

मोहन पौडेल
परासी, १२ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.८ स्थित बैकुण्ठपुरमा क्षतिग्रस्त बनेको जीर्ण कल्भर्ट लामो समयदेखि मर्मत सम्भार नहुँदा सर्वसाधारणले सास्ती भोगिरहेका छन् । ढेड वर्षअघि क्षतिग्रस्त बनेको उक्त कल्भर्ट पुनः निर्माणमा सरोकार पक्षको ध्यान नपुग्दा यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
परासी–त्रिवेणी हुलाकी सडक खण्डमा पर्ने जीर्ण कल्भर्ट निर्माणमा ढिलाई हुँदा उक्त सडक खण्डमा यात्रा गर्ने दैनिक सयौँ सवारी साधन, यात्रु र स्थानीयले समेत सास्ती भोग्नुपरेको स्थानीयवासी सरस्वती भरले दैनिक 24 खबरलाई बताउनुभयो । “कल्भर्ट जीर्ण बनेको, लामो समयदेखि पुनःनिर्माण नभएको विषयमा सबै पक्ष जानकार छन्, किन बनेको छैन् भन्ने चासो पनि छ, तर निर्माण गर्न कसैले चासो देखाएनन्”, उहाँले भन्नुभयो ।
कल्भर्टबाट सवारी ओहोरदोहोर गर्न नमिल्ने भएकोले अस्थायी डाईभर्सन बनाईएको छ । मोटरसाईकल तथा साईकल भने जोखिम मोलेरै भएपनि क्षतिग्रस्त कल्भर्टबाटै आवातजावत गर्ने गरेका छन् । कल्भर्ट क्षतिग्रस्त भएपछि बनाइएको डाईभर्सनबारे सांकेतिक बोर्डसमेत नहुँदा उक्त सडकमा पहिलोपटक यात्रा गर्ने सवारीहरु सिधै क्षतिग्रस्त कल्भर्ट पुलमै पुग्ने गरेकोले दिनहुँ दुर्घटना हुने गरेको स्थानीयवासी भरको भनाई छ ।
डाईभर्सनको धुलोका कारण आफूहरु बिरामीसमेत हुनुपरेको उहाँको गुनासो छ ।यो बाटोबाट धेरै पटक ओहोरदोहोर गरिरहने गाडीहरु बैकल्पिक सडक बैकुण्ठपुरचोकबाट कुनुवार हुँदै पट्खौली निस्कने भएकोले पनि जीर्ण कल्भर्ट निर्माणमा सम्बन्धित निकायको वेवास्ता देखिएको स्थानीयको भनाई छ ।
डाईभर्सन पनि साँघुरो र खाल्डाखुल्डी हुँदा सवारी साधन आवातजावतमा कठिन भोग्नुपरेको सवारी चालकहरु बताउँछन् । साना गाडीलाई त झनै असहज हुने गरेको उनीहरुको भनाई छ । ठूलो र लामो खालका सवारीसाधनलाई पनि डाईभर्सन पार गर्न हम्मेहम्मे हुने गरेको छ । हिउँदमा धुलो र वर्षातमा हिलोले स्थानीयदेखि यात्रुसम्म पीडित छन् । समयमा मर्मत सभ्भार नहुँदा ठूलो दुर्घटना निम्त्याउन खोजिएको स्थानीयको आरोप छ ।
रामग्राम–१२ की सरु मल्ल भन्नुहुन्छ, “यही बाटो भएर दिनहुँ वडा अध्यक्षदेखि सांसदसम्मका जनप्रतिनिधि चिल्ला गाडीमा ओहोर दोहोर गर्छन् तर जनताले भोगेको सास्ती देख्दैनन्, यति लामो समय हुँदा पनि यसको मर्मत वा नयाँ पुल निर्माणम कसैले चासो देखाएका छैनन्, दिनहुँ दुर्घटना भईरहन्छ, मोटरसाईकल कति दुर्घटना हुन्छन् गन्ती नै छैन्, बेलाबेला ठूला गाडीहरु पनि सिधै पुलमा पुगेर ठोक्किन्छन्”
आफूहरुले पटकपटक जीर्ण पुलको निर्माण गर्न माग गरेपनि सुनुवाई नभएको उहाँको गुनासो छ । “मेयर र गाउँपालिका अध्यक्षहरु चिल्ला गाडीमा दिनहुँ दशौँ पटक यो बाटो हिँड्छन्, उहाँहरुको गाडी दुर्घटनामा परे पो तत्कालै बनाउँथे, उहाँहरु र उहाँका आफन्तहरुले धुलो र हिलो खेप्नुपरे पो छिटो निर्माण हुन्थ्यो होला, हामी जनताले भोेगेको पीडा कस्ले बुझ्ने, फेरि अहिले नै पुल बनाउँदा पछि भोट पाईदैन की भन्ने नि चिन्ता होला, उनीहरुले नै हिँडिरहने बाटो बनाउन हामीले कति गुहार्ने ?” मल्लले भन्नुभयो ।
क्षतिग्रस्त बनेको उक्त कल्भर्ट निर्माणका लागि आफूले पटकपटक प्रयास गरेको तर समाधान हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले बताउनुभयो । यो सडक तथा पुल निर्माणको जिम्मा स्थानीय पालिकाको नभई हुलाकी राजमार्ग आयोजनाको भएकोले स्थानीय स्तरबाट समस्या समाधान नभएको उहाँको भनाई छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुका ईन्जिनियर विष्णु पाण्डेले बैकुण्ठपुरको जीर्ण कल्भर्टसहित उक्त सडक खण्डमा पर्ने चार वटा कल्भर्ट निर्माणका लागि ढेड वर्ष देखि नै पटकपटक ठेक्का आह्वान गर्दा ठेक्का नै नपरेको बताउनुहुन्छ । “हामीले यो अवधिमा तीन पटक सूचना निकाल्दा पनि ठेक्का नै परेन, चार वटाको संयुक्त टेन्डर निकाल्दा नपरेकोले अहिले फेरि छुट्याएर ठेक्का निकाल्ने प्रक्रिया चालिएको थियो, तर अर्थ मन्त्रालयको सहमति नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन्”पाण्डेले भन्नुभयो ।
पाण्डेका अनुसार अर्थमन्त्रालयले हाल ठेक्कापट्टा निकाल्न रोक लगाएकोले काम अघि बढ्न नसकेको हो । तर आफूहरु निरन्तर प्रयासमा रहेको उहाँको दाबी छ । “हुलाकी निर्देशनालयले अर्थमन्त्रालयसँग ठेक्का आह्वानको सहमतिको लागि पत्राचार गरिसकेको छ, अर्थमन्त्रालयले सहमति दिनासाथ ठेक्का प्रक्रिया अघि बढ्छ”, उहाँले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस