२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रदेशसभा सदस्य जयसवालको पहलमा जनता मावि शुक्रौलीका छात्राहरुलाई नि:शुल्क साईकल वितरण

२०८० बैशाख ४, सोमबार प्रकाशित ( साल अघि) ६४५ पाठक संख्या

मोहन पौडेल
परासी, ४ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १५ स्थित जनता माध्यमिक विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ। बेटी बचाऔँ, बेटी पढाऔँ अभियान अन्र्तगत लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल(कलवार)को विशेष पहलमा छात्राहरुलाई नि:शुल्क साईकल उपलब्ध गराईएको हो ।
आज विद्यालयमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य जयसवालले उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत बीस जना छात्राहरुलाई साईकल वितरण गर्नुभएको हो । सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा कमजोर र जेहेन्दार छात्राहरुलाई अध्यनमा प्रोत्साहन गर्न आफूले प्रदेश सरकारमार्फत साईकल वितरणको कार्यक्रम ल्याएको उहाँले बताउनुभयो।
प्रदेश सांंसद जयसवालले आफ्नो क्षेत्रका बालिकाहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको बताउनुभयो । उहाँले प्राप्त साईकललाई सही सदुपयोग गर्दै अब्बल छात्रा बन्न आग्रह गर्नुभयो । प्रदेश सांसद जयसवालले आर्थिक अभावकै कारणले कोही पनि शिक्षाबाट वञ्चित हुन नहुने बताउँदै आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने परिस्थिति आए आफूलाई जानकारी गराउन र अध्ययनको लागि आवश्यक रकम आफ्नो व्यक्तिगत तवरबाट भएपनि व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका प्रमुख दिवाकर भण्डारीले रामग्राम र पाल्हीनन्दन अन्र्तगतका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत छात्राहरुलाई प्रोत्साहन गर्न बेटी बचाऔँ, बेटी पढाऔँ अभियान अन्र्तगत यो कार्यक्रम ल्याएको बताउँदै यस क्षेत्रका करिब ३२० छात्राहरुलाई साईकल उपलब्ध गराईने जानकारी दिनुभयो । यस कार्यक्रमका लागि विनियोजित बजेटबाट दुवै पालिकाका सबै छात्राहरुलाई साईकल उपलब्ध गराउन नसकिएकोले निश्चित मापदण्ड भित्रका छात्राहरुलाई मात्र अहिले साईकल उपलब्ध गराईएको उहाँले बताउनुभयो । साईकल प्राप्त भएपछि बालिकाहरुलाई विद्यालय आवातजावतमा सहज हुने उहाँको विश्वास थियो ।
विद्यालयमा नियमित उपस्थित हुने, पढाईमा अब्बल, आर्थिक रुपले कमजोर, जेहेन्दार र घरदेखि विद्यालयसम्मको दुरी धेरै भएका छात्राहरुलाई छनौट गरी साईकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि लम्सालले जानकारी दिनुभयो । विभिन्न कारणले छात्राहरुले बीचमै पढाई छोड्ने प्रवृत्तिलाई यो कार्यक्रमले केही हदसम्म छात्राहरुलाई विद्यालय जान प्रोत्साहन गर्ने र विद्यालयमा नियमित उपस्थिति तथा सिकाई उपलब्धी बृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
रामग्राम–१५ का वडा अध्यक्ष धनपत यादवले यस विद्यालयको शैक्षिक र भौतिक विकासमा आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । उहाँले विद्यालयका भौतिक संरचना पूराना र जिर्ण भईसकेकोले नयाँ भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन प्रदेशसभा सदस्य जयसवालको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा रामग्राम – १६ का वडा अध्यक्ष विजय यादव, परासी प्रेस क्लवका महासचिव एवं दैनिक24 खबरका सम्पादक मोहन पौडेल,विद्यालयका शिक्षक उमेश कोंहार लगायतले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Cycle 2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस