२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

राष्ट्र र नागरिक सेवामा विशिष्ट पहिचान बनाउन प्रहरी महानिरीक्षक कुँवरको निर्देशन

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ४५३ पाठक संख्या

मोहन पौडेल
परासी, १७ चैत । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्र र नागरिक सेवामा विशिष्ट पहिचान बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले उच्च मनोबल, जोश र जाँगरका साथ कार्यक्षेत्रमा दत्तचित्त भएर खटिन पनि आग्रह गर्नुभयो ।
पश्चिम नवलपरासीको जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित आठौँ समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको आज आयोजित समापन(दीक्षान्त समारोह)लाई सम्बोधन गर्र्दै महानिरीक्षक कुँवरले नेपाल प्रहरीको विशिष्टीकृत बलको रुपमा स्थापित कमाण्डोहरुको यूनिटले विगतमा देखाएको बहादुरी र काम कारवाहीले नेपाल प्रहरी संगठनकै गरिमा बढाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “निःसन्देह, कठिन, चुनौतीपूर्ण र निर्विवादित तवरमा नेपाल प्रहरीको एकमात्र एलाईट फोर्सको रुपमा रहेको कार्यदललाई यहाँहरुले केवल पेशा मात्र हैन, जीवन पद्धतिको रुपमा ग्रहण गरी राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु”
महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा सञ्चालन हुने तालिमहरु मध्ये सबैभन्दा कठिन मानिने यस तालिम पूरा गर्नु आफैमा एउटा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरुले डेमो अभ्यासमा देखाएको जस्तै जोश कार्यक्षेत्रमा खटिदाँ पनि कायमै राख्न जोड दिनुभयो ।
“कठिन प्रकृतिको तालिमले प्रत्येक प्रहरी कर्मचारीहरुलाई बढी व्यवसायिक तथा थप जिम्मेवार बोध गराउँदछ, आगामी दिनहरुमा सिकेका ज्ञान, सीप र कौशललाई व्यवसायिक रुपमा कार्यक्षेत्रमा प्रयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु, कमाण्डो जस्ता कठिन प्रकृतिका तालिमलाई थप रचनात्मक बनाउन र सहभागी हुने प्रशिक्षार्थीहरुलाई संगठनको तर्फबाट केही अतिरिक्त सेवा सुविधाको व्यवस्थाको लागि प्रयास गर्ने कुरामा सदैव गम्भिर हुने र संगठनले यसमा निरन्तर योगदान पु¥याउनेछ”, उहाँले भन्नुभयो ।
कमाण्डो तालिम सफलताका साथ सम्पन्न गर्ने प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महानिरीक्षक कुँवरले समय अनुकूल प्रशिक्षार्थीहरुको विकास केन्द्रित प्रशिक्षण गतिविधि सञ्चालनमा दत्तचित्त भएर लाग्न पनि निर्देशन दिनुभयो ।
यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौँका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) टेकप्रसाद राईले तालिममा सिकेका सीपलाई व्यवहारमा कुशलतापूर्वक रुपान्तरण गर्न तथा देश र जनताको सेवालाई सर्वाेपरी ठानी सेवामा खटिन निर्देशन दिनुभयो ।
कार्यक्रममा सोही महाविद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) मधुसूदन लुइँटेलले यस महाविद्यालयमा सञ्चालन हुने तालिमद्वारा उत्पादित जनशक्तिले देशमा उत्पन्न हुने विभिन्न सशस्त्र विद्रोह लगायत बिपद्को परिस्थितिमा काम गर्न सक्ने जनशक्ति तयार गर्ने एक मात्र प्रशिक्षण प्रदायक ईकाई रहेको बताउनुभयो ।
तालिमका संयोजक प्रहरी नायव उपरीक्षक(एसपी) पुरुषोत्तम खड्काले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै महाविद्यालयमा गत मंसिर १८ गतेबाट ९० कार्यदिन अवधि सञ्चालित यस प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिममा १२ जना प्रहरी निरीक्षक,१५ जना प्रहरी सहायक निरीक्षक र ८८ जना प्रहरी जवान गरी ११५ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीहरुले उक्त समारोहमा ईमिडियट एक्सन ड्रिल अन्र्तगत फायर एण्ड मुभ अभ्यास,होस्टेज रेस्क्यू अप्रेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागि प्रशिक्षार्थीमध्ये विभिन्न विधामा सर्वाेत्कृष्ट हुने प्रशिक्षार्थीहरुलाई पुरस्कृत गर्नुभएको थियो । यसरी पुरस्कृत हुनेमा प्रहरी निरीक्षकहरु सनम मल्ल, प्रभात लक्सम लिम्बु, सुजन बाबु विश्वकर्मा, बीओएसी तर्फ प्रहरी जवान गोविन्द परियार, खाली हात लडाई तर्फ प्रहरी जवान यज्ञराज चौलागाई, चाँदमारीतर्फ प्रहरी निरीक्षक सुजन बाबु विश्वकर्मा, १५ कि.मि. दौडतर्फ प्रहरी जवान रमेश चोङबाङ, २४ कि.मि. दौडतर्फ प्रहरी जवान शिव कुमार कुर्मी र ४२.१९५ कि.मि म्याराथन दौड तर्फ नोगेन थाम्सुहाङ रहनुभएको महाविद्यालयले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस