२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बर्दघाट खानेपानी संस्थाले निर्माण गर्यो थप आयोजना, एक घर एक धाराको योजना पूरा हुँदै

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

मोहन पौडेल
परासी, १२ चैत । एक घर एक धाराको लक्षय पूरा गर्न, बढ्दो शहरीकरण र जनघनत्वलाइ मध्य नजर गर्दै बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले थप आयोजना निर्माण गरेको छ । बर्दघाट–४ स्थित बाढीपीडितमा संस्थाले साढे चार लाख लिटर क्षमताको नयाँ ओभरहेड ट्यांकी निर्माण गरेको हो ।
आफ्नो कार्यक्षेत्र भित्र एक घर एक घाराको लक्ष्यलाई पूरा गर्न तथा बढ्दो सहरीकरणसँगै बढ्न सक्ने मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ थप आयोजना निर्माण गरिएको संस्थाका अध्यक्ष धातानन्दन बस्यालले जानकारी दिनुभयो । यो सँगै अब बर्दघाट खानेपानी आयोजनाका दुई वटा ओभरहेड ट्यांकी भएका छन् । पूरानो ट्यांकी पनि साढे चार लाख लिटर क्षमताको रहेको छ ।
संस्थाले यसअघि बर्दघाटमा दुई वटा मुहान श्रोत र तीन वटा डिप बोरिङ मार्फत ४ नम्बर वडाका चार हजार ५७ धारामा २४ औँ घण्टा शुद्ध पिउने पानी वितरण गर्दै आएको संस्थाका व्यवस्थापक विष्णु भुसालले जानकारी दिनुभयो । “हामीले २४ औँ घण्टा यहाँका उपभोक्तालाई शुद्ध पिउने पानी वितरण गरिरहेका छौँ, एक घर एक धाराको अभियान करिब अन्तिम चरणमा पुगेको छ, संस्थाको अब हुने साधारणसभा अगावै एक घर एक घारा हुनेछ,उपभोक्तालाई सहज,सुलभ रुपमा स्वच्छ र सुरक्षित पिउने पानीको व्यवस्थापनमा हामी निरन्तर लागिरहेका छौँ”, उहाँले भन्नुभयो ।
पूरानो संरचनासँग नयाँ आयोजना कनेक्सन गर्ने काम पनि सम्पन्न भएको छ । अब बर्दघाट नगरपालिका वडा नं. ४ का प्रत्येक घरधुरिमा २४ औँ घण्टा शुद्ध पिउने पानीको पहुँच पुग्ने आयोजनाले जनाएको छ ।
नेपाल सरकार संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको ९० प्रतिशत र उपभोक्ता संस्थाको दश प्रतिशत लागत सहभागितामा आयोजना निर्माण गरिएको हो । आयोजना कार्यालय बुटवलकी ईन्जिनियर सुवेच्षा जिसीका अनुसार सात करोड १९ लाख ९२ हजार ६२७ रुपैँयामा नयाँ आयोजना निर्माण सम्पन्न भएको हो । जसमा चार लाख पचास हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, करिब २२ किलोमिटर पाईपलाईन, दुई वटा डिप बोरिङ, सुरक्षागार्ड घरसहित जेनेरेटर एक थान तथा भल्भ चेम्बर दश वटा वटा पूर्वाधार रहेका छन् ।
नवनिर्मित आयोजनाको आज एक समारोहकाबीच प्रतिनिधिसभा सदस्य एवं विनोद चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय, ईन्जिनियर शालिकराम पौडेल, बर्दघाट ४ का वडा अध्यक्ष बेदविना तिवारी, सल्लाहकार रविन्द्रविक्रम हमाल, नेपाली कांग्रेस बर्दघाट नगर सभापति दामोदर जिसी, समाजसेवी टेकबहादुर आरसी, खानेपानी संस्थाका उपाध्यक्ष दीपक लम्साल, सचिव धन बहादुर गुरुङ लगायतले खानेपानीको क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस