२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

व्यवस्थामै कमजोरी रहेकोले मुलुकको आर्थिक अवस्था जर्जर : प्रधान

२०७९ चैत्र ९, बिहिबार प्रकाशित ( साल अघि) ११५९ पाठक संख्या

मोहन पौडेल
परासी, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य ध्रुबबहादुर प्रधानले मुलुक निर्माणको लागि महिलाको बलियो प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका हरेक निकायमा महिलाको बलियो उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।
राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन पश्चिम नवलपरासीको जिल्ला अधिवेशनलाई आज परासीमा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता प्रधानले महिलालाई सशक्तिकरण र बलियो बनाउनुपर्ने बताउनुभएको हो ।
संघीय सांसद प्रधानले अहिलेको शासकीय व्यवस्थामै कमजोरी रहेकोले मुलुक अघि बढ्न नसकिरहेको दाबी गर्नुभयो । व्यवस्था कमजोर भएकै कारण मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पुगेको बताउँदै उहाँले यसको निराकरणप्रति भने ठूला दलहरुले ध्यान नदिएको जिकिर गर्नुभयो ।
ठूला दलहरु मुलुकलाई निकास दिन भन्दा मिलिजुली भागबण्डा गरेर खान पल्किएको टिप्पणी गर्दै नेता प्रधानले सरकार नेपाल र नेपालीको हित भन्द बाह्रय शक्तिको हितमा लागेपछि आफूहरुले सरकार छाडेको बताउनुभयो ।
आफूहरुलाई पद भन्दा देश र जनता प्यारो भएको बताउँदै उहाँले भन्नुभयो, “हामी अरु भन्दा फरक छौँ, नेपाल र नेपालीको हीत चाहन्छौ,नेपालको स्थायित्व चाहन्छौ हामी देश र जनता प्रति ईमान्दार छौँ,शान्ति अमनचयन कायम गर्न, भ्रष्टाचार, फजुल खर्च लगयात नियन्त्रण गर्न कानुन निर्माण गरेर अघि बढ्न खोजेका थियौँ”
नेता प्रधानले राप्रपाले उठाएका मुद्धा सम्बोधन गर्न बलियो संगठन आवश्यक रहेको उल्लेख गर्दै संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । यस्तै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अन्जना शाह रावलले महिलाहरु जीवनभर चुल्होचौकामा मात्र सीमित नभई राजनीतिमा पनि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । राजनीतिमा समाहित भएर मुलुकलाई निकास दिन महिलाहरु अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
मुलुकका आपतविपद र संकट पर्दा महिलाहरुले अग्रणी भूमिका खेल्दै आएको ईतिहास उल्लेख गर्दै उहाँले मुलुक निर्माणमा महिलाहरु अग्रसर हुन जरुरी रहेको बताउनुभयो । उहाँले विदेशीको ईसरामा जनसमर्थन बिना फालिएको हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको लागि महिलाहरु अग्रसर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
महिला संगठन रामग्रामकी अध्यक्ष शोभा चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, केन्द्रीय सदस्य देवी घिमिरे, सुनवल नगर अध्यक्ष दीलमाया बुढा मगर, महिला संगठनकी सुनवल नगर अध्यक्ष मनु गुरुङ,सरावल अध्यक्ष अर्चना चौधरी, पाल्हीनन्दन अध्यक्ष ज्योति हरिजनm सोनकली थारु लगायतले शुभकामना व्यक्त गर्नुभएको राप्रपा नवलपरासीका प्रवक्ता सन्तोष पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस