२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विश्व पानी दिवस: पानीको उचित सदुपयोग र व्यवस्थापनमा जोड

२०७९ चैत्र ८, बुधबार प्रकाशित ( साल अघि) ६१६ पाठक संख्या

मोहन पौडेल
परासी, ८ चैत । पानीको संकट समाधान गर्न पानीको उचित सदुपयोग र व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुद्ध पिउने पानीको पहुँचबाट नागरिक वञ्चित हुन नहुनेमा पनि सरोरकावालाहरुको ध्यानाकर्षण गराएका छन् ।
३१ औँ विश्व पानी दिवसको अवसरमा आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ पश्चिम नवलपरासीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा आयोजित उक्त कार्यक्रमका वक्ताहरुले नागरिकलाई स्वच्छ र सुरक्षित पिउने पानीको व्यवस्था, जलवायु परिवर्तनको असर न्यूनीकरण,जलउत्पन्न प्रकोपलाई कम गर्न पानीको सदुपयोग र व्यवस्थापन आवश्यक रहेको बताउँदै आम नागरिकमा सचेतना जगाउनमा पनि आग्रह गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले शुद्ध पिउने पानीको प्रयोग गर्न पाउनु नागरिकको मौलिक हक भएपनि अधिकांश नागरिकले स्वच्छ र सुरक्षित पिउने पानीबाट वञ्चित रहेकोले त्यसतर्फ स्थानीय तहको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँगाउँमा वषौँअघि देखि बनेका खानेपानी ट्यांकीको उचित व्यवस्थापन गरी सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो । पानीको स्रोत संरक्षणमा पनि सबै पक्षले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रत्येक नागरिकको घरमा शुद्ध पिउने पानीको व्यवस्थापनको लागि रहेका चुनौती र समस्या समाधान गर्नको लागि खानेपानी महासंघले पनि स्पष्ट योजना ल्याउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले उपभोक्ता समितिले खानेपानी आयोजना सञ्चालन गर्न नसकेको महशुस भईरहेको बताउँदै त्यसको समाधानका लागि नगरपालिकामै खानेपानी शाखा स्थापना गर्न पहल गरिरहेको बताउनुभयो । नगर भित्र सञ्चालित उद्योग प्रतिष्ठानले अनिवार्य रुपमा पानीको पुनःभण्डारण गर्नुपर्ने गरी व्यवस्थापन गर्न जोड दिईने उहाँले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेले विश्वमै नेपाल जलस्रोतको हिसाबले दोस्रो धनी देश भएपनि गाउँ शहर सबै तिर खानेपानीको समस्या रहेको बताउनुभयो । उहाँले संविधानको मौैलिक हकको रुपमा स्वच्छ खानेपानीको हक लेखिएपनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । एक घर एक घारा अभियान चलाएर सबै नागरिकलाई शुद्ध पिउने पानीको पहुँचमा पुर्याउन तीनै तहका सरकारले प्राथमिकताका साथ खानेपानीको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्र्ने उहाँले माग गर्नुभयो ।
महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले खानेपानी उपभोक्ता संस्थालाई दीगो व्यवस्थापन र आत्मनिर्भर बनाउन सरकारसँग महासंघले पैरवी गरिरहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा खानेपानी आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्दै नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानीको व्यवस्थापन गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल परियार, नेपाल गण्डक पश्चिमी नगर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष हैदर अलि मोमिन, भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, परासी प्रेस क्लवका अध्यक्ष बेचु गौड, रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्य, महासंघकी जिल्ला उपाध्यक्ष तारा सुनार लगायतले पानीको महत्व र यसको व्यवसथपनको विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको महासंघका जिल्ला सचिव देवीदत्त सापकोटाले जानकारी दिनुभयो ।उक्त अवसरमा खानेपानी तथा सरसफाइको क्षेत्रमा गरेको योगदानको मूल्यांकन गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको तर्फबाट वास पत्रकार समूह पश्चिम नवलपरासीका अध्यक्ष मोहन पौडेल र रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस