२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित ( साल अघि) ८३७ पाठक संख्या

मोहन पौडेल
परासी, ३ चैत । पश्चिम नवलपरासीका सरोकारवालाहरुले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धता जनाएका छन् । पश्चिम नवलपरासी क्षेत्र नं. २ अन्र्तगतका सांसद, पालिका प्रमुखहरु, सामुदायिक विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले आज परासीमा गरेको कार्यक्रममा सहभागिहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा संघीय सांसद एवंं पूर्व कानून,न्याय तथा संसदीय मामिला मन्त्री धु्रबबहादुर प्रधानले शिक्षा सुधारको योजना आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सबै सरोकार पक्षले आआफ्नो जिम्मेवारी इृमान्दारीतापूर्वक पूरा गर्न सके सामुदायिक विद्यालय सुधार गर्न सम्भव रहेकोमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयका समस्या समाधानका लागि सक्दो पहल गर्ने पनि बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको कारण पहिचान गर्र्दैै समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो । रामग्राम नगरपालिकाका मेयर धनपत यादवले शिक्षाको विकास बिना अन्य विकास सम्भव नभएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार आवश्यक रहेको बताउँदै शिक्षा सुधारमा प्रतिबद्ध रहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट गुणस्तर सुधारका लागि सहयोग गर्न तयार रहेको तर विद्यालयमा शिक्षक अभिभावकले आआफनो जिम्मेवारी ईमान्दारिता पूर्वक पालना गर्नुपर्नेमा उहाँको जोड थियो ।
सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले सुनवलमा शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र नगरपालिका सक्रियतापूर्वक लागिरहेको बताउनुभयो । प्रविधिमैत्री र प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउँदै मेयर अर्यालले सुनवल नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि दुई वटा विद्यालयमा पाईलट कार्यक्रमको रुपमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले स्वरोजगारमूलक शिक्षाका लागि व्यवहारिक शिक्षा आवश्यक भएको बताउँदै शिक्षा ऐन संशोधन छिटो अघि बढाउन ध्यानाकर्षण गराउनुभयो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि चुनौतीको रुपमा रहेपनि गुणस्तर बृद्धि र शिक्षाको विकासका लागि गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिकाबाट शिक्षा क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताउँदै अध्यक्ष चौधरीले सरावलमा अहिलेसम्म एउटा पनि क्याम्पस कलेज नभएकोले क्याम्पस स्थापनाको पहल गरिदिन संघीय सांसदको ध्यानाकर्षण गराउनुभयो । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले शिक्षाको सुधारमा आफू सुरुदेखि नै केन्द्रीत भएर लागेको बताउनुभयो । उहाँले पालिकाको एक्लो प्रयासले मात्रै शिक्षामा सुधार नहुने बताउँदै सरोकारवाला सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख विष्णु प्रसाद ज्ञवाली, शाखा अधिकृत कृष्ण चन्द्र पोखरेल, सामुदायिक विद्यालय व्यवस्थापन समिति सञ्जाल लुम्बिनी प्रदेश उपाध्यक्ष सूर्य न्यौपाने, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा लगायत विभिन्न विद्यालयका अध्यक्ष एवं प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि गर्नुपर्ने कार्यहरुको बारेमा आआफ्नो धारणा व्यक्त गर्नुभएको महाकवि देवकोटा नमूना विद्यालय व्यवस्थापन समिति सदस्य रामु पराजुलीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस