२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

६० वर्षपछि आफ्नै प्रशासनिक भवन बनाउँदै जिल्ला समन्वय समिति नवलपरासी,प्रमुख यादवद्धारा शिलान्यास

२०७९ फागुन २२, सोमबार प्रकाशित ( साल अघि) ६१३ पाठक संख्या

मोहन पौडेल
परासी, २२ फागुन । जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको आफ्नै प्रशासनिक भवन निर्माण कार्य शुरु भएको छ । संघीय संरचनासँगै साविक जिविसबाट जिससमा परिणत भएको यो कार्यालयको ६० वर्षपछि आफ्नै भवन बन्न लागेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले आज एक समारोहकाबीच रामग्राम नगरपालिका वडा न.४ स्थित आफ्नै जग्गामा प्रशासनिक भवनको शिलान्यास गर्नुभयो । उक्त स्थानमा आगामी डेढ वर्ष भित्र जिससको सुविधा सम्पन्न दुई तले भवन निर्माण हुनेछ ।
तत्कालिन जिल्ला विकास समिति नवलपरासीले वि.स.२०६२ सालमा साविक परासी आदर्श गाविस वडा न.७ हाल रामग्राम–४ मा परासी–महेशपुर सडक खण्डको छेउमा दुई विघा दश कठ्ठा जग्गा खरिद गरेको थियो । ६० वर्ष अघि स्थापना भएको जिविस,आफ्नै भवनको अभावमा जिल्ला प्रशासन कार्यालयको भवनमा सञ्चालन हुँदै आएको थियो ।
हाल जिल्ला प्रशासन कार्यालयको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएपछि केही महिना देखि जिल्ला समन्वय समिति भाडाको घरमा सञ्चालन हुँदै आएको छ । जिल्ला समन्वय समितिको आफ्नै स्रोतबाट भवन निर्माण शुरु गरिएको प्रमुख यादवले बताउनुभयो । उहाँले तोकिएको समय भित्रै गुणस्तरीय भवन निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । यो भवन जिल्लावासीकै साझा सम्पत्ति भएकोले समयमै निर्माण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
भवन निर्माणका लागि रु नौ करोड ४२ लाख ५६ हजार(भ्याट बाहेक) लागत अनुमान गरिएकोमा घटाघट प्रतिस्पर्धामा रु सात करोड ९० लाख ६५ हजारमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जिल्ला समन्वय अधिकारी मान बहादुर खड्काले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा आकृत्ति– पशुपति–एभरेष्ट जेभी बुटवलले पाएको छ ।
कार्यक्रममा पूर्व रक्षाराज्यमन्त्री रामबचन यादव, सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ता, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस