२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

तीनै तहका जनप्रतिनिधि मिलेर एकिकृत विकास गरौँ – निवर्तमान मन्त्री प्रधान

२०७९ फागुन १८, बिहिबार प्रकाशित ( साल अघि) ९७६ पाठक संख्या

परासी, १८ फागुन । निवर्तमान कानून न्याय तथा संसदीय मामिला मन्त्री धुव्र बहादुर प्रधानले स्थानीय, प्रदेश र संघ तीनै तहका जनप्रतिनिधि मिलेर एकिकृत विकासका लागि अघि बढ्न आह्वान गर्नुभएको छ । सबै क्षेत्रका जनप्रतिनिधि मिलेर काम गर्न सके पश्चिम नवलपरासी क्षेत्र नं. २ विकास, सुशासन र सेवा प्रवाहका हिसाबले देशमै नमूना क्षेत्र बन्ने उहाँले बताउनुभयो ।
पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा आज पाल्हीनन्दन ३ विजयपुरमा आयोजित विकास, सुशासन र सेवाप्रवाह विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिम नवलपरासी क्षेत्र नं २ का सांसद प्रधानले उक्त कुरा बताउनुभएको हो । “मैले एउटा योजना ल्याउने, प्रदेशका सांसदले अर्काे योजना ल्याउने,पालिकाले अर्कै योजना ल्याउने, एउटै ठाउँमा तीन किसिमको कुरा आउनु ठिक होईन,मैले निर्वाचनदेखि नै भन्दै आएको छु, विकासका लागि हामी मिलेर अघि बढौँ,एकिकृत विकास गरौँ”, उहाँले भन्नुभयो ।
पाल्हीनन्दन गाउँपालिकाको विकासबाट आफू प्रभावित भएको बताउँदै सांसद प्रधानले आफ्नो क्षेत्रलाई नमूना बनाउन आफूले भरपूर प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कसरी यहाँको विकास गर्ने, स्तरीय सडक होस्, बाढी डुवान नहोस्, आर्थिक समृद्धि होस्,रोजगारी सृजना होस्,किसानको उन्नती होस्, औद्योगिक करिडोर होस्,यहाँका नागरिकलाई योग्य र सक्षम बनाउन सकियोस् भन्ने नै हाम्रो चाहना हो, हामी त्यही अनुसार अघि बढीरहेका छौँ ।”
उहाँले पाल्हीमन्दिर, नन्दन ताल, शिवमन्दिर, गोपालपुर मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास गरी पर्यटनबाट आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । “आफ्नो क्षेत्रको राम्रो गरिरहेको छु राम्रो गर्न मैले सक्छु भनेरै अघि बढेको छ,मन्त्री हुुदाँ पनि मेरो ध्यान आफ्नो क्षेत्रमै थियो”, उहाँले भन्नुभयो । नेता प्रधानले हरपुरदेखि अगाडिको बाटो, भक्सिपुरबाट गेर्मा जाने बाटो,उजैनीबाट पाल्हीमन्दिर हुँदै चिमनटोला जाने बाटो लगायतका आवश्यक बाटोहरु आफ्नो प्राथमिकतामा परिसकेको जानकारी दिनुभयो ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले जिल्लामा पछाडि परेको यो गाउँपालिकाले विकासमा गति लिँदै गएको बताउनुभयो । उहाँले आफूले विभिन्न चुनौतीका बाबजुद पनि गाउँपालिकाको विकासलाई अगाडि बढाएको बताउँदै विकासमा सहयोग गर्न सवै पक्षसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, पत्रकार मोहन पौडेल तथा गाउँपालिकाका विभिन्न संघ संस्था, राजनीतिक दल, विद्यालय, स्वास्थ्यस्वयमसेविका लगायतका प्रतिनिधिहरुले पालिका भित्र आवश्यक योजना र विकासका विषयमा आआफm्नो धारणा राख्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरुले गाउँपालिका अन्तरगतका सडक स्तरोन्नती, शिक्षा, स्वास्थ्य, पर्यटन,कृषि,सिँचाइ लगायतका क्षेत्रमा योजनाबद्ध विकास गर्न आग्रह गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस