२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलको हिउँदे सभा – पाँच वर्षे कार्ययोजना, भू–उपयोग योजना, स्वास्थ्य विद्येयक र दुई शंसोधन विद्येयक पारित

२०७९ फागुन १०, बुधबार प्रकाशित ( साल अघि) ४३६ पाठक संख्या

मोहन पौडेल
परासी, १० फागुन । पाँच वर्षे दीर्घकालीन सोच, एक विद्ययेक, दुई संशोधन विद्येयक र भू–उपयोग योजना पारित गर्दै सुनवल नगरपालिकाको बाह्रौँ नगरसभा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षका केही योजना संशोधन तथा खर्च कटौती गरेको छ भने तुरिया खोलाको नदीजन्य पदार्थ निकासीको लागि चाईना स्टेट कम्पनीलाई ठेक्कामा दिने निर्णय गरेको छ ।
आज सम्पन्न हिउँदे नगरसभाले हाल वार्षिक रु पाँच करोड आन्तरिक आम्दानी रहेकोमा आगामी पाँच वर्ष भित्र रु २० करोड आम्दानी गर्ने लक्ष्य पारित गरेको छ । यसैगरी वडा न.. ५ र ८ मा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्ने,नगर प्रहरीको दरबन्दी २५ पुर्याई व्यारेक प्रणालीमा लैजाने लगायतका प्रस्तावहरु पनि सर्वसम्मत पारित गरेको सुनवल नगरपालिकाले जनाएको छ । नगरसभाले नगर प्रमुख बिमला अर्यालद्धारा प्रस्तुत नगरपालिकाको आगामी पाँच वर्षे कार्ययोजनासहितको दीर्घकालिन सोच सर्वसम्मत पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
आगामी पाँच वर्ष भित्र सेवा प्रवाहमा नागरिकको सहभागिता वृद्धि भई नागरिक सन्तुष्टि प्राप्त हुने, सेवाग्राहीले सञ्जालीकरणको माध्यमबाट पाँच मिनेटमै सेवा प्राप्त गर्ने, आत्मनिर्भर नगरपालिका निर्माण भई कृषि, पशु सेवाको वैज्ञानिकरण तथा पर्यटन तर्फ वार्षिक २५ हजार पर्यटक वृद्धि भई आन्तरिक आय र रोजगारीमा सुधार हुने, दीगो विकास लक्ष्यका सूचकहरु ९८ प्रतिशत पूरा हुने, सडक पूर्वाधारतर्फ ९५ प्रतिशत सडक कालोपत्रे हुने, एक घर एक धारा,अत्यावश्यक पूर्वाधार निर्माण,शहर सौन्दर्यकरण पूरा हुने गरी समृद्ध सुनवल सुखी नगरवासीको संकल्प र अपेक्षित उपलब्धी हासिल गर्न पाँच वर्षे दीर्घकालीन कार्ययोजनासहितको सोच ल्याईएको नगर प्रमुख अर्यालले बताउनुभयो ।
सभामा नगर उपप्रमुख सूर्यप्रसाद दुवेले नगरपालिकाको चालु आर्थिक वर्ष २०७९।०८० को हालसम्मको प्रगति प्रस्तुत गर्दै चालु तर्फ रु २१ करोड ८४ लाख ९३ हजार ३१४ अर्थात ४१ प््रातिशत र पूजीगततर्फ रु २२ करोड ६ लाख १३ हजार ४७७ रुपैँया अर्थात ३३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । चालु आवमा स्वीकृत ४४३ योजना मध्ये ३२४ योजना सम्झौता भईसकेको तथा ९८ योजना सम्पन्न भई भुक्तानी गरिएको उहाँले बताउनुभयो ।
सभामा सामाजिक विकास समिति संयोजक एवं कार्यपालिका सदस्य भगवती बस्यालले पेश गर्नुभएको सुनवल नगरपालिकाको स्वास्थ्य विद्येयक २०७९ र खानेपानी तथा सरसफाइ सम्बन्धी ऐन २०७७ को प्रथम संशोधन विद्येयक सर्वसम्मत पारित भएको थियो । यसैगरी आर्थिक विकास समिति संयोजक एवं सुनवल ८ का वडा अध्यक्ष देउबहादुर गुरुङले पेश गर्नुभएको सुनवल नगरपालिकाको सहकारी ऐन २०७५ को प्रथम संशोधन विद्येयक र नगरपालिकाको भू–उपयोग योजना २०७९ पनि सर्वसम्मत पारित भएको थियो भने लेखा समितिको तर्फबाट सदस्य सचिव राजेन्द्र सापकोटाले पेश गर्नुभएको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
सभामा विशेष प्रस्ताव पेश गर्दै नगर प्रमुख अर्यालले सुनवल नगरपालिकाको आन्तरिक आयको बलियो स्रोत नदीजन्य पदार्थ भएकोले “ढुंगा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १२ मा गरिएको विशेष व्यवस्था अन्तरगत राष्ट्रिय गौरवका आयोजनालाई सम्बन्धित पालिकाले आयोजनालाई आवश्यक पर्ने नदीजन्य पदार्थको वातावरणीय अध्ययन प्रतिवेदनको पालना हुने गरी सम्बन्धित पालिकाले नियमानुसारको शुल्क लिई आयोजनालाई तोकिएको स्थानबाट नदीजन्य पदार्थको संकलन व्यवस्था मिलाउनुपर्नेछ भन्ने प्रावधान अनुसार उपयोग गर्न पाउने प्रावधान बमोजिम राष्ट्रिय गौरवको आयोजना बुटवल नारायणगढ सडक निर्माणको जिम्मा पाएको चाईना स्टेट कम्पनीलाई नगरपालिकाले तोकेको शुल्क् लिएर नदीजन्य पदार्थ संकलनको जिम्मा दिने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा नगर उपप्रमुख दुवे, वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र यादव, वडा नं. ७ का वडा अध्यक्ष नारायण आचार्य, वडा नं. ११ का वडा अध्यक्ष कमल च्वाई, वडा नं. १२ का वडा अध्यक्ष दीपक पौडेलले असहमति जनाउनुभएको थियो । आन्तरिक स्रोत बढाएर नगर विकास गर्नुपर्ने भएकोले बहुमत सदस्यको समर्थनमा उक्त प्रस्ताव पारित भएको नगर प्रमुख अर्यालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस