२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

यूवा क्याम्पस प्रमुख पाएसँगै फड्को मार्दै अस्नैया आर्दश क्याम्पस, आफ्नै भवनबाट पठनपाठन शुरु

२०७९ फागुन २, मंगलबार प्रकाशित ( साल अघि) ८४४ पाठक संख्या

मोहन पौडेल
परासी, २ फागुन । स्थापनाको लामो समयसम्म पछि पर्दै आएको पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.७ स्थित अस्नैया आर्दश क्याम्पस शैक्षिक सुधार र भौतिक संरचनाको क्षेत्रमा अघि बढ्न थालेको छ । आफ्नै भौतिक पूर्वाधार नहुनु तथा प्रचारप्रसार समेत नहुँदा प्रगति हुन नसकेको यस क्याम्पसले यूवा नेतृत्व पाएसँगै फड्को मार्न थालेको हो ।
यस क्षेत्रकै उत्कृष्ट र नमूना क्याम्पस बनाउने अभियानका साथ सञ्चालन गरिएको अस्नैया आर्दश क्याम्पसको शैक्षिक गुणस्तरमा वृद्धि हुँदै जानुका साथ आफ्नै सुविधा सम्पन्न भौतिक संरचना तयार हुन थालेको छ । उत्कृष्ट नतिजा हासिल गर्न सफल भएपनि यसको प्रचारप्रसार भने हुन सकेको छैन् ।
२०७० साल असोज १५ गते स्थापना भई ज्योति माविको भवनमा सञ्चालन हुँदै आएको यो क्याम्पसले अहिले आफ्नै भवनबाट पठनपाठन शुरु गरेको छ । फागुन १ गतेबाट क्याम्पसको आफ्नै भवनबाट पठनपाठन शुभारम्भ गरिएको क्याम्पस प्रमुख विनोद पाण्डेले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
क्याम्पसले यूवा क्याम्पस प्रमुख पाएपछि फड्को मार्न थालेको स्थानीयको भनाई छ । आफू यूवा अवस्थामै क्याम्पस प्रमुख भएर आएपछि यहाँका नागरिकको अपेक्षा अनुसार नै क्याम्पसको स्तरोन्नती गर्न यस क्षेत्रका राजनीतिक दल, संघ संस्था, अभिभावक, स्थानीय तह लगायतसँग सहकार्य गर्दै आएको प्रमुख पाण्डेले बताउनुभयो । आफू प्रमुख भएको छोटो समयमै क्याम्पस शैक्षिक र भौतिक संरचना स्तरोन्नती गर्ने कार्यलाई निरन्तर अघि बढाएको उहाँले बताउनुभयो ।
सुनवलको ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको यस क्याम्पसलाई थप भौतिक पूर्वाधार विकाससँगै यस क्षेत्रका विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउने उहाँको भनाई छ । आवश्यकता अनुसारको संकाय सञ्चालन गरी यस क्षेत्रकै उत्कृष्ट र नमूना सामुदायिक क्याम्पसको रुपमा स्थापित गर्ने गरी क्याम्पस सञ्चालक टिम लागिरहेको क्याम्पस प्रमुख पाण्डेले बताउनुभयो ।
हाल यस क्याम्पसमा विविएस सञ्चालनमा छ । यहाँका अभिभावकहरुको मन जितेर क्याम्पसलाई यस क्षेत्रकै गहनाको रुपमा स्थापित गरी विद्यार्थीको आकर्षण बढाउन लागिपरेको उहाँले बताउनुभयो । क्याम्पसमा थप भौतिक पूर्वाधार सहित शैक्षिक गुणस्तरका लागि प्रतिबद्ध भएर अघि बढीरहेको प्रमुख पाण्डेको भनाई छ ।
सुनवल–७ गणेश बस्तीमा नयाँ भवन निर्माणसँगै एक औपचारिक कार्यक्रम गरी सोमबारदेखि पठनपाठन शुभारम्भ गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कूल बहादुर बाठा मगरको अध्यक्षता तथा वडा अध्यक्ष नारायण आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष आचार्यले यस क्याम्पसको उन्नतीको लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कूल बहादुर बाठा मगरले धेरै संघर्षबाट स्थापित यस क्याम्पस यूवाको काँधमा सुम्पेकोमा अब केही हुन्छ की भन्ने आश पलाएको बताउनुभयो । सुनवल नगरपालिका र सांसद विकास कोषको सहयोगमा क्याम्पसले आफ्नै भवन निर्माण गर्न सफल भएको सञ्चालक समिति सदस्य विश्वनाथ यादवले बताउनुभयो । क्याम्पस प्रमुख पाण्डेले यहाँका सबै राजनीतिक दल, संघ संस्था, अभिभावक, बुद्धिजीवि, स्थानीय तहसँग मिलेर क्याम्पसलाई अघि बढाउन लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा टोल विकास समिति र महिला समूहले क्याम्पसका विद्यार्थी र शिक्षकहरुलाई पञ्चेबाजासहित भव्य स्वागत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%६%१%

प्रतिक्रिया दिनुहोस