२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जिल्ला प्रहरी कार्यालय परासीमा व्यारेक,थुनुवा कक्ष र आवासीय भवन निर्माण,एआईजी सिंहद्धारा उद्घाटन

२०७९ फागुन २, मंगलबार प्रकाशित ( साल अघि) ३३१ पाठक संख्या

मोहन पौडेल
परासी,२ फागुन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सुविधासम्पन्न व्यारेक, थुनुवा कक्ष तथा आवास भवन निर्माण गरिएको छ । नेपाल सरकारको रु चार करोड ३७ लाख ६१ हजार ५८४ को लागतमा कार्यालय परिसर भित्र सिनियर प्रहरी अधिकृत निवास भवन, कार्यालय प्रमुख निवास, व्यारेक भवन र थुनुवा कक्ष भवन निर्माण गरिएको हो ।
न्यू ड्रागन निर्माण सेवा काभ्रेसँग २०७६ पुसमा सम्झौता भई भवन निर्माण कार्य शुरु भएको थियो । निर्माण सम्पन्न नवनिर्मित चार वटै भवनको सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पूजा सिंहले उद्घाटन गर्नुभयो । एआईजी सिंहले सुविधासम्पन्न आधुनिक भवनसँगै प्रहरी कर्मचारीमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
आरामदायी र सुरक्षित आवास सुविधाले प्रहरी कर्मचारीको कामकारवाहीमा प्रत्यक्ष प्रभाव पर्ने बताउँदै त्यसको महशुस नागरिकले गर्न पाउने उहाँले बताउनुभयो । एआईजी सिंहले प्रहरी कर्मचारीले आफ्नो आचरण, व्यवहार, कर्तव्य र व्यवसायिकतामा प्रतिबद्ध हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । उहाँले नागरिकमैत्री र मुस्कानसहितको सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
देशभर ८८० स्थानमा प्रहरीको भवन नभएको बताउँदै उहाँले भवनको कारणले प्रहरीले प्रदान गर्ने सेवामा ह्रास आउन नहुनेमा जोड दिनुभयो । उहाँले प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरुको प्रयोग गरी प्रहरी संगठनलाई संस्थागत रुपमा मजबुत र सक्षम बनाउन नेपाल प्रहरी लागिरहेको बताउनुभयो ।
एआईजी सिंहले खुल्ला सीमानाका कारण हुने चोरी तस्करी नियन्त्रणमा कडाईका साथ लाग्न निर्देशन पनि दिनुभयो । महिला हिंसा नियन्त्रण, मानवअधिकारको संरक्षण, अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले दिनरात नभनी नागरिकको सेवामा खटिएका प्रहरी कर्मचारीलाई सुरक्षित आवासको आवश्यकता रहेको भन्दै नयाँ भवनको माध्यमबाट थप हौसला वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमा क्षेत्रमा चोरी निकासी बढ्दो रहेकोले गस्ती बढाउन जोड दिनुभयो । खुल्ला सीमानाकै कारण नेपाली यूवाहरु लागूऔषधको दुव्र्यसनीमा फस्दै गएको बताउँदै उहाँले यसको नियन्त्रणमा सबै पक्षको सहकार्य र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी टेकप्रसाद राईले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न प्रहरीले कार्ययोजना बनाएर लागु गरेको बताउँदै कुनै पनि प्रहरी कर्मचारी तस्करसँग मिलेको थाहा भएमा प्रदेश प्रहरी कार्यालयमा तत्काल सूचना दिन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले नागरिकलाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी विनोद सिलवाले प्रहरी कर्मचारीको सेवा सुविधा तथा सुरक्षित बसोबासको व्यवस्था मिलाउन निर्माण गरिएका नयाँ भवनहरुबाट अब सेवा प्रवाहमा थप सहजता हुनुका साथै प्रहरी कर्मचारीमा थप उत्साह थपिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस