२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सरावल गाउँपालिकाले बनायो पञ्चवर्षीय आवधिक विकास योजना

२०७९ माघ २९, आईतबार प्रकाशित ( साल अघि) १२१९ पाठक संख्या

मोहन पौडेल
परासी, २९ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पञ्चवर्षीय आवधिक विकास योजना निर्माण गरेको छ । गाउँपालिकाको योजनाबद्ध विकास र समृद्धिको लागि आवधिक विकास योजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
आगामी पाँच वर्ष भित्र विकासमा लक्षित उपलब्धी हासिल गर्न सरोकारवालाहरुको सुझाव,विज्ञहरुको परामर्श र गाउँपालिकाको वस्तुस्थिति विश्षेण गरेर आज आवधिक विकास योजनालाई पूर्णता दिईएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
विभिन्न चरणमा भएको गोष्ठीबाट गाउँपालिकामा सञ्चालन गरिने अल्पकालीन र दीर्घकालीन योजनाको प्राधमिकिकरण गर्दै आवधिक विकास योजनाको काम टुंग्याईएको उहाँले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार गाउँपालिकाको सडक, पुल,शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विकासका समग्र पक्षलाई प्राथमिकीकरण गरेर योजनाबद्ध विकासको खाका तयार पारिएको हो ।
गाउँपालिकाको समग्र वस्तुस्थिति, सबल पक्ष, दुर्वल पक्ष, अवसर, चुनौती लगायतको पहिचान गर्दै सम्भावना र अवसरलाई समेटेर अल्पकालीन र दीर्घकालीन आवधिक योजना निर्माणलाई अन्तिम रुप दिईएको अध्यक्ष चौधरीको भनाई छ । अध्यक्ष चौधरीका अनुसार दीर्घकालीन रुपमा सम्पन्न गर्ने गरी ६ वटा ठूला योजना अघि सारिएको छ । जसमा सरावल औद्योगिक क्षेत्र निर्माण गर्ने रुपान्तरणकारी योजना अघि सारिएको छ । पीपीपी मोडलबाट निर्माण गर्ने लक्ष्यसहितको यो योजनाको लागत २५ करोड रुपैँया प्रक्षेपण गरिएको छ।
कृषिको उर्वर भूमि सरावलमा बैमौसमी तरकारी प्रवद्र्धन एवं हाट बजार निर्माण गर्ने योजना अघि सारिएको छ । जसको लागत दश करोड रुपैँया अनुमान गरिएको छ । आन्तरिक उत्पादन प्रवद्र्धन गर्न सीमा नजिकै प्रदर्शनी स्थल निर्माण गर्ने योजना अघि सारिएको छ । यसका लागि पन्ध्र करोड रुपौया बजेट लाग्ने अनुमान गरिएको छ ।m माछा सुपरजोन निर्माण एवं सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । आवधिक योजनामा समेटिएको उक्त योजना पूरा गर्न दश करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
यसैगरी आर्दश मावि खोखरपूरालाई पोलिटेक्नीकल संस्थाको रुपमा स्तरोन्नती गर्ने योजना ल्याइएको छ । यो योजना सम्पन्न गर्न दश करोड रुपैँया आवश्यक पर्ने अनुमान गरिएको छ । यसैगरी सार्वजनिक सेवा प्रवाह सुदृढीकरण तथा डिजिटलाईजेसन गर्ने योजना अघि सार्दै यसको लागि आठ करोड लाग्ने अनुमान गरिएको अध्यक्ष चौधरीको भनाई छ । दीर्घकालीन रुपमा सम्पन्न गरिने यी योजनाको लागि गाउँपालिकाले प्रदेश तथा संघीय सरकार र अन्य दातृ निकायबाट सहयोग जुटाउने छ ।
यसैगरी अल्पकालीन योजना अन्र्तगत गाउँपालिकाका गौरवका योजनाहरु प्राथमिकीकरण गरिएको छ । गौरवका योजनाको रुपमा गाउँपालिकाको प्रशासनिक भवन, सबै वडाका केन्द्र जोड्ने सडक सञ्जाल, सीमसार क्षेत्र संरक्षण, पर्यापर्यटन विस्तार, पर्यटकीय स्थल संरक्षण तथा विकास कार्यक्रम, कोलवृक्ष क्षेत्र संरक्षण आयोजना,पन्ध्र शैय्याको सरावल अस्पताल, झरही, हुलासी तथा धनेवा खोला तटबन्ध तथा करिडोर निर्माणको योजनालाई प्राथमिकीकरण गरिएको छ ।
पालिकाले पहिचान र प्राथमिकीकरण गरेका यीनै योजनाहरुलाई अब गाउँपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्दै सम्पन्न गर्ने लक्ष्यका साथ गाउँँपालिकाले योजनाबद्ध विकास योजना कार्यान्वयन गर्दैै जाने अध्यक्ष चौधरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस