२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बुद्धस्थल जावा(ककरपत्त नगर)को प्रवद्र्धन गर्न सरावल गाउँपालिकाले मनायो महापरिनिर्वाण दिवस

२०७९ माघ २२, आईतबार प्रकाशित ( साल अघि) १२९० पाठक संख्या

मोहन पौडेल
परासी, २२ माघ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा पश्चिम नवलपरासीको सरावलस्थित बुद्धस्थल जावा(ककरपत्त नगर) मा महापरिनिर्वारण दिवस मनाईएको छ । सरावल गाउँपालिकाको आयोजनामा आज कोलवृक्ष बँगैचामा दीपप्रज्वलन गरी दिवस मनाईएको हो ।
बुद्धले आजकै दिन अर्थात माघ पूर्णिमाका दिन वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो । बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका दिन महापरिनिर्वाण गर्ने भिक्षु आनन्दलाई सुनाउनुभएको त्रिपिटकमा उल्लेख छ । बुद्धले भारतको कुशिनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।
सोही दिनको सम्झनामा भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको स्थल जावा कोलवृक्ष बँगैचा(ककरपत्त नगर)मा आज दिवस मनाईएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो । बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन वैशाख शुक्लपूर्णिमाका दिन देश विदेशमा बुद्धजयन्तीको रुपमा मनाइने गरेपनि महापरिनिर्वाण घोषणा गरेको दिनलाई सम्झने गरी सरावल गाउँपालिकाले उक्त दिनको सम्झना हुने र ककरपत्त नगर जावाको प्रवद्र्धन र महत्व पनि उजागर हुने भएकोले आज दिवस मनाईएको अध्यक्ष चौधरीले बताउनुभयो ।
बुद्धको महापरिनिर्वाण पश्चात् उहाँको अस्थि आठ भाग लगाइएको थियो । मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दिप, पावा र कुशिनगरलाई अस्थि बाँडिएको थियो । बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य(रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम भएको हुँदा कोलिय राजाले बनाएको स्तुपलाई रामग्राम स्तुपको रूपमा चिन्ने गरिन्छ । सो जिल्ला सदरमुकाम परासीदेखि तीन किलोमिटर.दक्षिणतर्फको उज्जैनी गाउँमा पर्छ ।
प्राचीन कोलिय गणराज्यकै एक प्रमुख नगर ककरपत्त नगर पनि थियो । सरावल–२ जावा गाउँमा अवस्थित यस क्षेत्रमा विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बगैँचा रहेको छ। भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरका रुपमा यस क्षेत्रको संरक्षण गरी प्रवर्धन र विकासमा गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो ।
तत्कालीन कोलीय गणराज्य अन्तर्गतको ककरपत्त नगरमा गृहस्थलाई सन्देश दिएको हुँदा संसारकै गृहस्थले यस स्थानमा आएर भगवान् बुद्धको सन्देश सुन्न सक्ने र मुक्ति पाउने स्थलका रुपमा विकास गरिने उहाँको भनाई थियो ।
बुद्ध दर्शनका अनुसार कोलीय पुत्र दीर्घजानुको नामले जावा गाउँ रहन गएको थियो । उक्त स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले सरावल गाउँपालिकाले यहाँ विभिन्न पूर्वाधारका कार्य गर्दै आएको गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।

भगवान् बुद्ध बेलाबेला गाउँ घुम्दा यस स्थानमा धर्म देशना गर्ने क्रममा भगवान् चरिया गर्दै ककरपत्त आएको किंवदन्ती छ । सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दीर्घजानुले भगवान्समक्ष उपस्थित भई आफूहरु गृहत्याग गरी भिक्षु हुन नसक्ने बताउँदै समान्य गृहस्थहरु कसरी मुक्तिको मार्गमा जान सक्छन् भन्ने आग्रह गरेका थिए।
भगवान् बुद्धले दीर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहसुख सन्देश सुनाएको बताईन्छ । यो कुरा त्रिपिटकको अगुत्तर निकायको दीर्घजानु सुत्तमा उल्लेख छ। गृह सुख सन्देश दिँदा भगवान् बुद्धले गृहस्थको इहलौकिक अर्थात् जीवित हुँदासम्म र पारलौकिक अर्थात् मरणोपरान्त गरी दुई भागमा सन्देश सुनाएका थिए ।
सरावल २ का कार्यबाहक वडा अध्यक्ष तुफानीलाल गुप्ताको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष बासमति हरिजन, वडा सदस्य नरेन्द्र चौधरी, रुपा हरिजन, समाजसेवी कृष्णदत्त थारु, भेषनारायण चौधरी, गोपीचन्द हरिजन, भेषनारायण चौधरी, सञ्जय मौर्य लगायतले कोलवृक्षको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

Sss2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस