२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

लुम्बिनीदेखि आएका साईकल यात्रीलाई रामग्राममा स्वागत,आजै कुशीनगर प्रस्थान

२०७९ माघ २१, शनिबार प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

मोहन पौडेल
परासी, २१ माघ । महामानव गौतम बुद्धको शान्ति सन्देश र बुद्धस्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको साईकल यात्रा रामग्राम स्तुप आईपुगेको छ । शुक्रबार लुम्बिनीबाट शुरु भएको साईकल यात्राका सहभागिहरुलाई आज परासी बुद्धचोकमा स्वागत गर्दै रामग्राम स्तुप भ्रमण गराईएको हो ।

Ra2

बौद्ध परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्धजन्मस्थल लुम्बिनीबाट शुरु भएको साईकल यात्रा आज दोस्रो दिन बुद्धको अस्तिधातु रहेको स्थल रामग्राम आईपुगेको हो । कुशीनगरसम्म पुग्ने साईकल यात्राका सहभागिहरुलाई परासी बुद्धचोकमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, उपमेयर सम्झना चौधरीसहित स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी,कर्मचारी, सुरक्षाकर्मी लगायतले भव्य स्वागत गरेका थिए ।
साईकल यात्रीलाई रामग्राम नगरपालिकाको तर्फबाट सम्झनाको चिनो प्रदान गरिएको थियो । परासीमा स्वागतपछि मेयर यादव र उपमेयर चौधरीपनि साईकल यात्रीसँगै साईकल चलाएर स्तुप पुग्नुभएको थियो । स्तुप पुगेका यात्रीहरुलाई पुरातत्वविद बसन्त महर्जनले रामग्राम स्तुपको ईतिहास र महत्वबारे जानकारी गराउनुभएको थियो । साथै स्तुप परिसरमा सहभागिहरुले ध्यान पनि गरेका थिए ।

Ra4

उक्त अवसरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले साईकल यात्राको माध्यमबाट रामग्राम स्तुपसहितका बुद्धस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामग्राम स्तुप ऐतिहासिक,पुरातात्विक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण भएपनि विकास नहुँदा ओझेलमा परेको बताउँदै मेयर यादवले आफूहरु निर्वाचित भएपछि स्तुपको विकासका लागि सम्बन्धित निकायमा पहल गरिरहेको र अब विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख सम्झना चौधरीले साईकल पर्यावरण र स्वास्थ्यका हिसाबले पनि उपयुक्त भएकोले साईकल यात्रीहरुलाई यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो । साईकल यात्राको माध्यमबाट बुद्धको शान्ति सन्देश फैलाउँदै रामग्रामको पनि प्रवद्र्धन गर्न उहाँले जोड दिनुभयो ।
तीन दिने साईकल यात्रा रामग्रामबाट आजै कुशीनगरतर्फ लागेको छ । पञ्चशीलको पालना गर्दै हरेक दिन ध्यान, साधनासहित लुम्बिनीबाट शुरु भएको यात्रा देवदह, रामग्राम हुँदै कुशीनगर पुगेर समापन हुने यात्राका संयोजक उषा तितिक्षुले जानकारी दिनुभयो । टोलीमा बौद्धमार्गी, साईकल अभियान्ता, पत्रकार, अनुसन्धानकर्ता लगायत नेपाल र भारतका अभियान्ताहरु रहेको उहाँले बताउनुभयो ।

Ra3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस