२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

अटो तथा ई–रिक्सा व्यवस्थापन र नियमन गर्न कानुन बनाउँदै पाल्हीनन्दन गाउँपालिका

२०७९ माघ २०, शुक्रबार प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

मोहन पौडेल
परासी, २० माघ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले अटो तथा ई–रिक्सा व्यवस्थापनका लागि कानुन ल्याउने भएको छ । पालिका भित्र अटो रिक्साको संख्या बढ्दै जाँदा मुख्य बजार क्षेत्र अस्तव्यस्त हुनुका साथै रिक्सा व्यवसायीहरुबीच सञ्चालनको विषयमा विवाद बढ्दै जान थालेपछि गाउँपालिकाले कानुन बनाएर नियमन गर्न लागेको हो ।
अटो रिक्साको व्यवस्थापन चुनौती बन्दै गएकोले आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने गरी कानुन ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले जानकारी दिनुभयो । अटोरिक्साको दर्ता,परमिट, भाडा, आवश्यक संख्या लगायतका विषय समस्याको रुपमा देखिएकोले सबै समस्या समाधान हुने गरी कानुन निर्माण गरिने उहाँले बताउनुभयो ।
अटो तथा ई–रिक्सा व्यवसायीबीच देखिएको विवाद समाधानका लागि आज गाउँपालिकाले आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष गुप्ताले रिक्सा व्यवसायलाई कानुनी दायरामा ल्याएर व्यवस्थापन गर्न लागिएको बताउनुभएको हो । उहाँले अनुमति पत्र (लाईलेन्स)लिएर तथा दक्ष भएर मात्र रिक्सा सञ्चालन गर्न जोड दिँदै मनपरी भाडा नलिन पनि जोड दिनुभयो । उहाँले पालिका भित्र अटो रिक्सा व्यवसायीको एउटै समिति बनाउन पनि आग्रह गर्नुभयो ।
विगत ३।४ महिनादेखि गाउँपालिका अन्तरगत सञ्चालित अटो रिक्सा व्यवसायीबीच आपसी द्धन्द्ध भई विवाद सिर्जना भएपछि गाउँपालिकाले समाधानको पहल थालेको गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले जानकारी दिनुभयो । उहाँले सबै अटो व्यवसायी मिलेर अनुशासन पूर्वक व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले सबै पक्ष बसेर गरेको निर्णय अनुसार अटो रिक्सा सञ्चालन गर्न आग्रह गर्दै कानुन भन्दा बाहिर जान खोजे कारवाही गर्ने चेतावनी दिनुभयो ।
उक्त कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, अटो रिक्सा व्यवसायी लगायतले समस्या समाधानको लागि सबै मिलेर अघि बढ्न आग्रह गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।

Ato R1

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस