२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा चुनौती बन्दै कुष्ठरोग निवारण, नयाँ बिरामीको संख्या बढ्दै

२०७९ माघ १५, आईतबार प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

मोहन पौडेल
परासी, १५ माघ । पश्चिम नवलपरासीमा कुष्ठरोगका नयाँ बिरामीहरुको संख्या बढ्दै गएको छ । चालु आवको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा ३० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।
विगत तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा कुष्ठरोगका बिरामीको संख्या निरन्तर उकालो लागेको स्वास्थ्य कार्यालय परासीले जनाएको छ । आव २०७९।०८० को साउनदेखि आजसम्ममा ३० जना नयाँ बिरामी फेला परेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत बजरंगीप्रसाद चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गत आव २०७८।०७९ मा जिल्लामा ७८ कुष्ठरोगी फेला परेका थिए भने आव २०७७।०७८ मा ५२ जना बिरामी फेला परेका थिए । कुष्ठरोगको संक्रमण दर लुम्बिनी प्रदेशमै पश्चिम नवलपरासीमा सबैभन्दा उच्च छ । कुष्ठरोग निवारणका लागि प्रति दशहजार जनसंख्यामा एउटा भन्दा कम केश हुनुपर्छ तर यस जिल्लामा १.९९ प्रिभिलेन्स दर रहेको छ । यो लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै हो भने नेपालमा बारा पछिको दोस्रो हो ।
७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आज स्वास्थ्य कार्यालय परासीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिईएको हो । सरकारले नेपालबाट कुष्ठरोग निवारण गरेपनि नयाँ बिरामी फेला पर्ने क्रम रोकिएको छैन् । जिल्लामा कुष्ठरोगको निवारण चुनौतीको रुपमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले बताउनुभयो । जनचेतनाको कमी, सरसफाइको कमी, सामाजिक अवहेलना, विभेद लाञ्छना लगायतका कारण बिरामीहरु उपचारमा नआई रोग पालेर बस्ने गरेको देखिएको छ ।
जिल्लामा फेला परेका अधिकांश बिरामीहरु स्वास्थ्य कार्यालय, पालिकाहरु तथा गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका खोजपड्तालका कार्यक्रमबाट फेला परेको पौडेलले बताउनुभयो । समुदाय स्तरमा केश पहिचान गर्न शिविर सञ्चालन गरिएको, सुस्ता, पाल्हीनन्दन लगायतका गाउँपालिकामा महिनाको एकपटक छाला शिविर गर्ने गरिएको,सक्रिय विधिबाट खोजपड्ताल गरेको,एकिकृत जनस्वास्थ्य अभियान अन्र्तगत छाला शिविर सञ्चालन गरेर नयाँ बिरामीको पहिचान भएको कार्यालयले जनाएको छ ।
जिल्लामा ईन्द्रेणी सामाजिक विकास मञ्च, फेयर मेड लगायतका गैरसरकारी संस्थाहरुले यो अभियानमा साथ दिएका छन् । नवलपरासीमा कुष्ठरोगका बिरामी बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले कुष्ठरोग रोकथामका लागि बिरामीको समयमै पहिचान, खोजपड्ताल कार्यक्रम, जनचेतना अभियान र बिरामीको उपचारलाई विशेष जोड दिन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कुष्ठरोग निवारणका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले सरकारको अभियानमा सबै पक्षले सहकार्य गरेर सफल बनाउनुपर्नेमा जोड दिँदै जनचेतनामा अभिवृद्धि, सरसफाइमा व्यवस्थित,सेवा विस्तार लगायका क्रियाकलापबाट कुष्ठरोग निवारण गर्न सकिने बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जिल्लामा कुष्ठरोगीको पहिचान र निवारणमा आवश्यक पहल भईरहेको बताउनुभयो । उहाँले पालिकाहरुसँग समन्वय गर्दै जनचेतना, खोजपड्ताल कार्यक्रम, उपचारको पहुँचमा पुर्याउने लगायतका कार्यहरु भईरहेको बताउनुभयो । ईन्द््रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले पालिकास्तरमा क्षमता अभिवृद्धि तथा अभिमुखिकरण गरिएपछि अहिले सबैजसो पालिकाले बजेट विनियोजन गरेर कुष्ठरोग निवारणको अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति दश हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भपएको अवस्थालाई निवारण भएको मानिन्छ । तर कुष्ठरोग निवारण भएको घोषणा भएपनि नयाँ बिरामी बढ्दै गएकोले चुनौती थपिएको छ ।
कुष्ठरोग आँखाले देख्न नसकिने सरुवा रोग हो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरु देखा पर्नु यो रोगको शुरुवातको चिन्ह हो । यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरु देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौ झरेर जानु कुष्ठरोगका चिन्हरु रहेको पृथ्वीचन्द्र अस्पतालका मेसु डा.मोहम्मद नुरुल होदाले बताउनुभयो । यो बढी किटाणु भएको अर्थात एमबी र कम किटाणु भएको अर्थात पीबी गरी दुई प्रकारको हुन्छ । यो रोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस