२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दन अस्पतालमा गर्भवती महिलाका लागि निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा शुरु

२०७९ पौष २९, शुक्रबार प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या

मोहन पौडेल
परासी, २९ पुस । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सञ्चालन गरिरहेको पाल्हीनन्दन अस्पतालमा गर्भवति महिलाको लागि निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवा शुरु भएको छ । ग्रामीण क्षेत्रका गर्भवति महिलालाई सहज रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन अस्पतालले आजदेखि यो सेवा शुभारम्भ गरेको हो ।
गर्भवति महिलाका लागि निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवाको आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले शुभारम्भ गर्नुभयो । उहाँले पालिकाबासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागिरहेको बताउनुभयो ।
गाउँपालिका भित्रै भिडियो एक्सरे सेवा नहुँदा यहाँका गर्भवति महिलाहरु समय र पैसा खर्च गरेर सदरमुकाम र अन्य अस्पतालहरुमा जानुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै सहज हुने अध्यक्ष गुप्ताले बताउनुभयो । पाल्हीनन्दन अस्पतालले स्थापनाको छोटो समयमै आवश्यकता अनुसारको सेवा थप गर्दै गएको बताउँदै अध्यक्ष गुप्ताले बिरामीको सेवामा कुनै कमि हुन नदिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
ग्रामीण क्षेत्रका गर्भवति महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनको लागि यो सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.राजकुमार गुप्ताले दैनिक24 खबरलाई जानकारी दिनुभयो । गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने उहाँले बताउनुभयो । यूएसजी मेसिनसहित तालिम प्राप्त स्वास्थ्यकर्मीको उपलब्धतापछि आजदेखि यो सेवा शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
पाल्हीनन्दनसहित रामग्राम, सरावल तथा भारतबाट आउने गर्भवती महिलालाई समेत यो सेवा निःशुल्क सेवा प्रदान गरिने डा.गुप्ताले बताउनुभयो । यो सेवा तालिम प्राप्त स्वास्थ्यकर्मी रेनु कार्की पन्थी र सुभद्रा केसीबाट सञ्चालन हुनेछ ।
पाल्हीनन्दन अस्पतालमा हालै २४ घण्टै आकस्मिक सेवा, २४ घण्टा जनरल वार्ड, एक्सरे सेवा, स्वास्थ्य बीमा सेवा थप गरिएको छ भने मातृशिशु सेवा, ल्याब सेवा, खोप सेवा, ओपिडी सेवा, फार्मेसी सेवा लगायत प्रदान गर्दै आएको जनाएको छ । सेवा प्रभावकारी हुँदै जाँदा बिरामीको चाप पनि बढ्दै गएको अस्पतालले जनाएको छ । हाल चिसोको कारण बिरामी कम भएपनि ओपिडीमा दैनिक सय बिरामीले सेवा लिन आउने गरेका छन् ।

Ph 1 Ph 2 Ph 3 Ph 5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%२%

प्रतिक्रिया दिनुहोस