२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा पूर्णखोप कार्यक्रमको जिल्ला स्तरीय समिक्षा

२०७९ पौष २५, सोमबार प्रकाशित ( साल अघि) ११३८ पाठक संख्या

मोहन पौडेल
परासी, २५ पुस । पश्चिम नवलपरासीमा पूर्णखोप कार्यक्रमको जिल्ला स्तरीय समिक्षा गरिएको छ । स्वास्थ्य कार्यालयले आज बर्दघाटमा कार्यक्रम गरी स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थितिमा पूर्णखोपको समिक्षा तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको हो ।
पूर्णखोप समिक्षा तथा पूर्णखोप दीगोपना र सरसफाइ प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण र दीगोपनाको लागि योजना तयारी गोष्ठीमा कार्यालयले जिल्लाको पूर्णखोपको अवस्था र आगामी दिनमा स्थानीय तहले गर्नुपर्ने काम लगायतको विषयमा छलफल भएको थियो । राष्ट्रिय खोप कार्यक्रमको महत्व, अवस्था, उपलब्धि र चुनौतीहरुको बारेमा जानकारी गराउने, खोप सेवा संचालन प्रक्रिया, खोप कोल्डचेन ब्यवस्थापन बारेमा जानकारी दिने,पूर्णखोप सुनिश्चितता र दिगोपनाको औचित्य र प्रक्रियाको बारेमा जानकारी गराउने,खोप कार्यक्रममा स्थानीय तहको भूमिका र जिम्मेबारीको बारेमा छलफल गरि योजना बनाउने र नियमित खोप मार्फत सरसफाई प्रबर्धन कार्यक्रमको बारेमा जानकारी गराई सोको निरन्तरताको लागि पहल गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले लिनुपर्ने सम्पूर्ण खोप लिएको सुनिश्चितता हुनु नै पूर्णखोप कार्यक्रमको उद्देश्य रहेको पन्थीले बताउनुभयो । बालबालिकालाई खोपको पहुँचमा ल्याउने र त्यसलाई दीगोरुपमा अगाडि बढाउने उपायबारे स्थानीय सरकारसँग अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । गत तीन वर्ष र यो वर्षको छ महिनाको अवधिमा पूर्ण खोप कार्यक्रम सुधारन्मुख रहेको पन्थीले जानकारी दिनुभयो ।
पूर्णखोप युक्त जिल्ला पश्चिम नवलपरासीलाई दीगो बनाउन पालिकाहरुले पहल गर्नुपर्ने बताउँदै स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले बालमृत्युदर रोक्नका लागि खोप अत्यन्तै जरुरी रहेको बताउनुभयो । उहाँले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई रोग लाग्ने दर, अपाङ्गतादर र मृत्युदर घटाउन विभिन्न १३ प्रकारका खोप लगाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलम इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिनजाइटिस, जापानिज इन्सेफलाईटिस्, रोटा भाइरसबाट हुने पखला रोकथाम तथा टाइफाइड रोकथामका लागि लक्षित बालबालिकालाई ती खोपहरु दिने गरिएको छ ।
स्वास्थ्य कार्यालय परासीको तथ्यांक अनुसार पश्चिम नवलपरासीमा विगत तीन वर्षको तथ्यांक हेर्दा आ.व.२०७६।०७७ मा ७७.७ प्रतिशत, आव २०७७।०७८ मा ८३.६ र गत आव २०७८।०७९ मा ९८.९ प्रतिशत पूर्णखोप कभरेज रहेको छ । यस्तै जिल्लामा १०१.८ प्रतिशतले कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा, सत प्रतिशतले पूर्ण डोज र ५३.१ प्रतिशतले बुस्टर डोज लगाएको तथ्यांक छ ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउन पालिकाहरुले आवश्यक जनशक्ति, भौतिक संरचना, उपकरण, औषधी लगायतको प्रवन्धसहित गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने बताउनुभयो । सरकारी स्वास्थ्य संस्थाको सेवाप्रवाहमा बिरामीको आकर्षण बढ्न नसकेको भन्दै उहाँले स्वास्थ्य संस्थाले दिने सेवा आम जनमानसमा पुर्याउन पनि जोड दिनुभयो ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, औषधी, उपकरण लगायतको प्रबन्ध पालिकाले गर्ने र गुणस्तरीय सेवा प्रवाहमा स्वास्थ्यकर्मी चुक्न नहुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरुसँग समन्वय गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस