२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलका महिलालाई जगदम्बा धागो कारखानामा रोजगारीको अवसर – मेयर अर्याल

२०७९ पौष २४, आईतबार प्रकाशित ( साल अघि) ८०० पाठक संख्या

परासी, २४ पुस । रुपन्देहीको मोतीपुरमा अवस्थित सौरभ ग्रुपद्धारा सञ्चालित जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड(धागो कारखाना)ले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका २० जना महिलालाई रोजगारीको अवसर दिने भएको छ । सुनवल नगर प्रमुख बिमला अर्यालको पहलमा रोजगारी गर्न चाहने नगर भित्रका यूवा महिलालाई सीप तालिमसहित दक्ष बनाएर रोजगारी दिने कम्पनीले प्रस्ताव गरेको हो ।
आज सुनवल नगरपालिका र जगदम्बा स्पिनिङ्ग मिल्सले सुनवलमा रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरी महिलाहरुलाई रोजगारीको अवसर छोप्न आग्रह गरिएको हो । नगर प्रमुख अर्यालले आफू निर्वाचित भएर आएदेखि नै बेरोजगारीको समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउनुभयो । उक्त उद्योगमा आर्थिक रुपमा कमजोर तथा हिंसामा परेका महिलाहरुलाई विशेष लक्षित गरी रोजगारीका लागि पहल गरिएको नगर प्रमुख अर्यालले बताउनुभयो । कम्पनीमै बसेर रोजगारी गर्न चाहने महिलाहरुको लागि जगदम्बा स्पिनिङ्गले अवसर दिएको उहाँले बताउनुभयो ।
उद्योगले सीप प्रदान गरेर रोजगारी दिने भएकोले मौकाको सदुपयोग गर्न आग्रह गर्दै उहाँले महिलाहरु आर्थिक रुपमा शसक्त र आत्मनिर्भर हुन सके हिंसा सहन नपर्ने र सबल समाज निर्माणमा टेवा पुग्ने नगर प्रमुख अर्यालले बताउनुभयो ।
उद्योगका प्रशिक्षक होमनारायण भट्टराईले कम्पनी स्थापना भएदेखि अधिकांश भारतीय कर्मचारीले काम गर्दै आएकोले अब नेपाली महिलालाई पनि रोजगारी दिने उद्देश्यका साथ कम्पनीले रोजगारीको अवसर खोलेको बताउनुभयो । १८ देखि ३५ वर्ष भित्रका महिलाहरुलाई ६ महिनासम्म तालिम दिए पश्चात पूर्ण तलब दिएर काममा लगाईने उहाँले बताउनुभयो ।
तालिम अवधिको पहिलो दुई महिनामा प्रति दिन ५७० रुपैँयाका दरले पारिश्रमिक दिईने छ भने दुई महिना कटेपछि प्रति दिन ६६५ रुपैँया र त्यसपछि दैनिक ९१० रुपैँयाका दरले पारिश्रमिक उपलब्ध गराईनेछ भने दक्षताको आधारमा पनि कम्पनीले मूल्यांकन गर्ने उहाँले बताउनुभयो । उद्योगमा दैनिक १२ घण्टा काम गर्नुपर्नेछ ।
उक्त उद्योगले भिसकस र पोलिस्टर फाईबरबाट धागो उत्पादन गर्दछ । २०६२ सालमा स्थापना भएको यो उद्योगले ६०० बढीलाई रोजगारी दिईरहेको सौरभ ग्रुपद्धारा सञ्चालित लक्ष्मी स्टिलका मानव संशासन तथा प्रशासन प्रमुख दामोदर पौडेलले बताउनुभयो । यहाँ उत्पादन हुने धागो भारतसहित तेस्रो मुलुकमा निर्यात हुने गरेको सौरभ ग्रुपका एसआर म्यानेजर तुल्सीराम रेग्मीले जानकारी दिनुभयो । उद्योगले २० जनालाई रोजगारी दिने भनेपनि आजको कार्यक्रममै ६० भन्दा बढीले रोजगारीका लागि नाम टिपाएका छन् ।सुनवल नगरपालिकाका रोजगार संयोजक शंकर पन्थीले रोजगारीको अवसरलाई नगुमाउन आग्रह गर्नुभयो । सुनवल ५ का वडा अध्यक्ष नेत्र शर्मा तिवारीले महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउन रोजगारीकोे लागि पहल गरिएको बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस