२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पञ्च वर्षीय भौतिक पूर्वाधार विकास योजना बनाउँदै सरावल गाउँपालिका

२०७९ मंसिर १९, सोमबार प्रकाशित ( साल अघि) १५९९ पाठक संख्या

मोहन पौडेल
परासी, १९ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजना बनाउने भएको छ । चालु आव २०७९।०८० देखि लागू हुने गरी पञ्च वर्षीय भौतिक पूर्वाधार विकास योजना बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।
योजना निर्माणका लागि परामर्शदाता कम्पनी छनौट गरी योजना निर्माणको काम अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले दैनिक 24 खवरलाई जानकारी दिनुभयो । परामर्शदाता कम्पनीले गाउँपालिकाको समग्र वस्तुस्थितिको अध्ययन पश्चात खाका तयार गरि अहिले सरोकारवालाहरुसँग आवश्यक छलफल र सुझाव संकलन गरिररहेको उहाँले बताउनुभयो ।
योजना निर्माणको लागि जियो सर्भिस नेपाल परामर्श सेन्टर ललितपुर छनौट भएको छ । परामर्शदाता कम्पनीले निर्माण गरेको प्रारम्भीक खाकाको विषयमा गाउँपालिकाका प्राविधिक कर्मचारीहरुसँग छलफल तथा सुझाव संकलन गरेको छ । क्रमशः जनप्रतिनिधि र अन्य विज्ञ समूहसँग छलफल गरी प्राप्त सुझावलाई समावेश गरी अन्तिम प्रतिवेदन पालिकालाई बुझाउने उक्त परामर्श सेन्टरले जनाएको छ ।
संक्षिप्त भौतिक पूर्वाधार विकास योजना भित्र आगामी पाँच वर्षमा गाउँपालिकाको कुन ठाउँमा कस्ता पूर्वाधार निर्माण हुन्छन् भन्ने एकिन हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो योजना भूउपयोग योजना जस्तै हो, बस्ती आवास क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र निर्धारण हुने र पाँच वर्षमा एकिकृत विकास गर्न सकिने योजनाहरु समावेश हुनेछन् । पालिका भित्र अब बनाउनुपर्ने सडक, अस्पताल, स्वास्थ्य चौकी, खेलमैदान, बसपार्क, आश्रयस्थल ,विद्यालयको पहुँच मार्ग निर्माण लगायतका विषय योजनामा समावेश हुनेछन्”
समृद्ध सरावल निर्माण गर्ने उद्देश्यलाई साकार पार्न विकासमा योजनाबद्ध रुपमा फड्को मार्न पूर्वाधार योजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक24 खबरलाई बताउनुभयो । योजना कार्यान्वयनको लागि ठूलो लगानी आवश्यक पर्ने बताउँदै उहाँले पालिकासहित प्रदेश र संघीय सरकार तथा आवश्यकता अनुसार निजी क्षेत्रसँग पनि सहकार्य गरिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस