२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा धान उत्पादन बढ्यो

२०७९ मंसिर १८, आईतबार प्रकाशित ( साल अघि) ६७३ पाठक संख्या

मोहन पौडेल
परासी, १८ मंसिर । पश्चिम नवलपरासीमा यसवर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष करिब ४५ प्रतिशतले वृद्धि अर्थात २८ हजार ९७३ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ ।
यसवर्ष जिल्लामा २० हजार ५०० हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार २७५ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्र परासीका निमित्त प्रमुख सन्तोष चौधरीले दैनिक24 खवरलाई जानकारी दिनुभयो । यो वर्ष प्रति हेक्टर ४.५५ मेट्रिक टनका दरले धान उत्पादन भएको उहाँले बताउनुभयो ।
गतवर्ष जिल्लामा ६४ हजार ३०२ मेट्रिक टन धान उत्पादन भएको थियो । गतवर्ष पनि सोही क्षेत्रफलमा धान लगाईएपनि बाढीका कारण १४ हजार ५८१ हेक्टर क्षेत्रफलमा मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यसवर्षको साउन महिनाको खडेरीले धानमा क्षति पुग्न खोजेपनि त्यसपछि पानी परिरहेका कारण धानमा क्षति हुन नपाएको प्रमुख चौधरीले बताउनुभयो । रामग्राम नगरपालिका, सरावल,पाल्हीनन्दन गाउँपालिका, सुनवलको केही भाग र बर्दघाट नगरपालिका धानको पकेट क्षेत्रको रुपमा चिनिन्छ ।
प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि उपयुक्त मानिन्छ । पश्चिम नवलपरासीमा हाईब्रीड, साँवा,सुगन्धीत लगायत जातका धान लगाउने गरिन्छ ।
धान प्रवद्र्धनका लागि गुणस्तरीय बिजवृद्धि कार्यक्रम, मसिना धानका कार्यक्रम सञ्चालन, सिँचाइका लागि पचास प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण, गुणस्तरीय बिउमा जोड दिने लगायतका कार्यक्रम सञ्चालन गर्ने गरिएको कृषि ज्ञान केन्द्र परासीका सूचना अधिकारी समिर मगरले दैनिक24 खवरलाई जानकारी दिनुभयो ।
अनुकूल मौसम, रोगको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनामा वृद्धि, गुणस्तरीय बिउको प्रयोग, मलखादको व्यवस्थापन लगायतका कारण धान उत्पादनमा वृद्धि भएको मगरले बताउनुभयो । रासायनिक मलको अभाव देखिएपनि कृषि सामग्री मार्फत केही हदसम्म मलखाद आएको र खुल्ला सीमानाका कारण कृषकले वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकोले पनि धान उत्पादनमा वृद्धि भएको केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस