२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

निर्वाचन हारेपनि राजनीतिमा हारेको छैन्,चौधरीको जितले राजनीतिमा विचौलियाको प्रवेश भयो – त्रिपाठी

२०७९ मंसिर ११, आईतबार प्रकाशित ( साल अघि) १४५१ पाठक संख्या

मोहन पौडेल
परासी, ११ मंसिर । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भएपनि राजनीतिमा पराजित नभएको बताउनुभएको छ । उहाँले सहयात्री दल नेकपा एमालेको नेतृत्वपंक्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको दाबी गर्नुभयो।
त्रिपाठी एमालेको समर्थनमा पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो। उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गर्नुभएको हो । नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारेपनि जनताको सेवा र प्राप्त उपलब्धीको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताउनुभयो ।
निर्वाचित सांसद विनोद चौधरीलाई बधाई तथा शुभकामना दिदैँ नेता त्रिपाठीले चौधरी धनाढ्य मात्र नभई कर छल्ने, अत्यन्त विवादीत र यूएईको गोल्डेन भिसा प्राप्त व्यक्ति भएकोले उहाँलाई थप जिम्मेवारी दिन नहुने तर्क गर्नुभयो । गोल्डेन भिसा प्राप्त व्यक्ति उक्त देशको नागरिक सरह भएकोले चौधरीमा आफ्नो देशप्रति भन्दा उक्त देशप्रति लगाव बढी हुने आशंका उहाँको थियो ।
चौधरीलाई ईंगित गर्दै नेता त्रिपाठीले राजनीतिमा विचौलियाको प्रवेश भएको भन्दैँ चिन्ता व्यक्त गर्नुभयो । चौधरीको यसअघि यस क्षेत्रमा कुनै योगदान नभएकोले अवको दिनमा विकासमा योगदान होस् भन्ने आफूले चाहेको र सहयोग गर्न पनि तयार रहेको उहाँले बताउनुभयो ।
निर्वाचनको प्राप्त समग्र नतिजाले मुलुक अस्थिरता तर्फ जाने उहाँको संकेत थियो । यो परिणामले अन्तत संविधान माथि प्रहार हुने सम्भावना रहेको बताउँदै उहाँले संविधानमाथि प्रहार भए चुप लागेर नबस्ने चेतावनी दिनुभयो । अहिलेको अवस्थामा कस्को सरकार बन्ला भन्ने पत्रकारको जिज्ञासामा नेता त्रिपाठीले कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । उहाँले मुलुक ठूलो आर्थिक दुर्घटनामा पर्ने सम्भावना प्रबल हुँदै गएको बताउनुभयो । दलहरु शक्ति बाँडफाँडमा केन्द्रीत हुने र अर्थतन्त्र सुधारमा केन्द्रीत नहुने प्रवृत्ति अहिले पनि दोहोरिने उहाँले दाबी गर्नुभयो । कार्यक्रम जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेको सहजीकरणमा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%३%६%१%३%

प्रतिक्रिया दिनुहोस