२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विकासमा सहयोग र सहकार्य गर्न संघ र प्रदेशका नवनिर्वाचित सांसदसँग पाल्हीनन्दन गाउँपालिकाको आग्रह

२०७९ मंसिर ११, आईतबार प्रकाशित ( साल अघि) ५७६ पाठक संख्या

मोहन पौडेल
परासी, ११ मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले गाउँपालिकाको विकासमा सहकार्य र सहयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुसँग प्रस्ताव गर्नुृभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित पश्चिम नवलपरासी क्षेत्र न.. २ का प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुसँग अध्यक्ष गुप्ताले गाउँपालिकाको विकासमा सहयोग माग्नुभएको हो ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट नवनिर्वाचित संघीय सांसद धु्रब बहादुर प्रधान तथा प्रदेश सांसदहरु खड्ग बस्नेत र बैजनाथ जयसवाललाई आज गाउँपालिकाले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा गाउँपालिका अध्यक्ष गुप्ताले पाल्हीनन्दन गाउँपालिकाको बजेटले मात्र विकास सम्भव नभएकोले तीनै तहका सरकारबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले गाउँपालिकाको बजेटले भ्याएसम्मका विकास निर्माण तथा जनजीविकाका सवालमा गाउँपालिकाले काम गरिरहेको बताउँदै गाउँपालिकाको सडक,खानेपानी लगयातका पुर्वाधारमा संघ र प्रदेश तहबाट पनि सहयोग गरिदिन आग्रह गर्नुभयो । गाउँपालिका भित्रका सडक साँघुरा र कच्ची रहेकोले दुर्घटनाको जोखिम पनि बढेकोले सुविधायुक्त र स्तरीय सडक निर्माणमा संघीय सरकारबाट आवश्यक पहल गरिदिन प्रतिनिधिसभा सदस्य प्रधानसँग आग्रह गर्नुभयो ।
सडकको विकास विना समृद्ध पाल्हीनन्दन सम्भव नभएको बताउँदै अध्यक्ष गुप्ताले गाउँपालिकाको बजेटमा प्रदेश र संघबाट थपेर सडक निर्माण गर्न सकिने बताउनुभयो । उहाँले गाउँपालिकामा प्राविधिक शिक्षालय निर्माण कार्य अधुरो रहेकोले त्यसलाई पूर्णता दिन प्रदेश र संघीय सांसदसँग सहयोगको अपेक्षा गर्नुभयो । गाउँपालिका अध्यक्ष गुप्ताले प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गरेर पाल्हीनन्दनको तीब्र विकास गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य धु्रब बहादुर प्रधानले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने सोचका साथ अघि बढेको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र भित्रका आवश्यकता संकलन गरी प्राथमिकताका आधारमा विकास गर्ने उहाँले बताउनुभयो । तीनै तहका सरकारसँग आवश्यक सहकार्य गरी यस क्षेत्रबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिसँग मिलेर काम गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा रहेको डुबानको समस्या समाधानका लागि पनि आफूले नेपाल र भारत दुवै पक्षसँग समन्वय गरी बाढीको दीर्घकालिन समस्या समाधान गर्न कोसिस गर्ने उहाँले बताउनुभयो ।
क्षेत्र नं. २(१)बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले अर्काे पटकको चुनावमा मत माग्न जानै नपर्ने गरी नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मतदान गरेकालाइ पाँच वर्ष खेर फाल्यौँ भनेर पछुताउन नपर्ने र मतदान नगरेकालाई मतदान नगरेकोमा पछुतो हुने गरी काम गर्ने उहाँको दाबी थियो । उहाँले तीन तहका जनप्रतिनिधिसँग सहकार्य गरेर काम गर्न आफू तयार रहेको बताउनुभयो ।
क्षेत्र नं. २(२)बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले गाउँपालिकाको विकासको लागि कुन तहको सरकारले के भूमिका निभाउनुपर्ने हो आवश्यक योजना बनाउन आग्रह गर्नुभयो । उहाँले विकासमा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफू प्रदेश सभा सदस्य भए पनि आफ्नो क्षेत्रमा मन्त्रीले भन्दा बढी बजेट ल्याउन सफल भएको र आगामी दिनमा पनि पर्याप्त बजेट ल्याउने जिकिर गर्नुभयो । यस क्षेत्रको विकासका लागि तीनै तहका जनप्रतिनिधि मिलेर अघि बढ्न उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल,पाल्हीनन्दन वडा न.. ३ का वडा अध्यक्ष गोधन हरिजन, वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र सहानी,योजना शाखा प्रमुख अनिल चौधरी लगायतले आफ्नो धारणा राख्नुभएको गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस