२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका सात उद्यमी सम्मानित

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित ( साल अघि) ७०० पाठक संख्या

मोहन पौडेल
परासी, ९ मंसिर । पश्चिम नवलपरासीका सात उद्यमी सम्मानित भएका छन् । आठौं उद्योग दिवसको अवसरमा आज घरेलु तथा साना उद्योग कार्यालयले परासीमा गरेको उद्यमी अन्तरक्रिया कार्यक्रममा स्थानीय कच्चापदार्थमा आधारित घरेलु उद्योग सञ्चालन गरिरहेका उद्यमीहरूलाई सम्मान गरेको हो ।
स्थानीय स्रोतको उपयोग,रोजगारी सृजना,आयात प्रतिस्थापनमा योगदान गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्दै गाउँमा बसेर स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको कार्यालय प्रमुख गंगाधर पाण्डेले दैनिक 24 खबरलाई जानकारी दिनुभयो । ती उद्यमीबाट लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनमा टेवा पुगिरहेको उहाँले बताउनुभयो ।
यसरी सम्मानित हुनेमा प्रिसियस नेपाली ढाका उद्योग सुनवल-४ कि उद्यमी सरिता थापा,शिवशक्ती पटेर उद्योग सुस्ता-२ कि उद्यमी किशुन कुमारी चौधरी,दिदीबहिनी टपरी उद्योग सुनवल-३ कि उद्यमी शान्ति पुन,दुर्गा बेल तथा फलफूल प्रशोधन उद्योग सुनवल-६ का उद्यमी धन बहादुर तिवारी रहनु भएको छ ।
यसैगरी सिया फर्निचर उद्योग रामग्राम-१५,पाठक खाद्य मसला उद्योग बर्दघाट-४ र समिक्षा एण्ड विराट एकीकृत कृषि फर्म प्रतापपुर-१ लाई पनि सम्मान गरिएको थियो ।   कार्यक्रममा बोल्दै उद्यमीहरूले स्थानीय उत्पादनको प्रयोग बढाउन आग्रह गरेका थिए । यहाँ उत्पादन हुने वस्तु विदेशसम्म निर्यात हुने गरेपनि स्थानीय स्तरमै भने विदेशी र प्लास्टिकका वस्तु प्रयोग हुने गरेको उनीहरूको गुनासो थियोे ।
उक्त अवसरमा जिल्ला उद्योग प्रबर्द्धन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले सरकारले उद्यमीलाई दिने सेवा सुविधाको सूचना उद्यमीसम्म प्रभावकारी रुपमा प्रवाह गर्न आग्रह गर्नुभयो । स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुको सहज बजारीकरणको आवश्यकता रहेको बताउँदै उहाँले त्यसका लागि सातै स्थानीय तहसँग समन्वय गरि उचित व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो ।
रामग्राम नगरपालिकाकि उपमेयर सम्झना चौधरीले उद्यमीका समस्या समाधान गर्न स्थानीय सरकार तत्पर रहेको बताउनुभयो । उहाँले स्थानीय उद्यमीले स्थानीय कच्चापदार्थ पदार्थ,श्रम,सीप र मिहिनेत लगाउँदा केही महंगो पर्न गएपनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । स्थानीय उद्यमीको प्रबर्द्धनमा सबै तह र तप्का लाग्नुपर्ने चौधरीले उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले उद्यमी व्यवसायी यो मुलुकको आर्थिक समृद्धिको नायक रहेको बताउनुभयो । उहाँले उत्पादनसँग नजोडिएसम्म आर्थिक समृद्धि प्राप्त नहुने भएकोले उद्यमीको प्रोत्साहनको लागि राज्य पक्ष सकारात्मक रहेको बताउनुभयो ।

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले साना देखि ठूलासम्मका उद्योगको लागि पश्चिम नवलपरासी जिल्ला ओैद्योगिक हबको रुपमा अघि बढिरहेको बताउनुभयो । बजारीकरणको समस्या हुदाहुदै पनि स्थानीय उद्यमीले जोखिम मोलेर वस्तु उत्पादन गरिरहेको बताउँदै उहाँले राज्यले दिने सेवा सुबिधाको सहि रुपले उद्यमीले उपयोग गर्न भने नपाएको बताउनुभयो । अध्यक्ष भण्डारीले नवलपरासी जिल्लालाई ओैद्योगिक क्षेत्रको रुपमा विकास गर्न माग गर्नुभयो ।   घरेलुु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले साना उद्यमीलाई संगठित गर्दै उनीहरूको हितमा काम गरिरहेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय प्रदेश मातहत आएपछि पश्चिम नवलपरासी जिल्लामा अहिलेसम्म छ हजार २२४ उद्योग दर्ता रहेको कार्यालयले जनाएको छ । त्यसमा लघु उद्यम ५८ तथा साना उद्योग छ हजार १६६ छन् । ती उद्योगमा एक लाख २१ हजार ८०० उद्यमी छन् भने करिब २५ हजारले प्रत्यक्ष रोजगारी पाएको घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस