२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

फराकिलो मतान्तरका साथ हामी चुनाव जित्दैछौँ – दीपेन्द्र अधिकारी (अन्तरवार्तांं)

२०७९ मंसिर १, बिहिबार प्रकाशित ( साल अघि) १२४२ पाठक संख्या

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । पश्चिम नवलरासीको क्षेत्र नं. २ मा नेकपा एमाले र जसपाका प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार दीपेन्द्र कुमार अधिकारी पनि मतदाताको घरदैलो भेटघाटमा व्यस्त हुनुहुन्छ । २०३५ साल देखि अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष हुदै राजनीतिमा सक्रिय हुनुभएका अधिकारी हाल एमालेको जिल्ला अध्यक्ष हुनुहुन्छ । २०४३ सालमा वडा अध्यक्ष, २०५४ सालमा जहदा गा.वि.स. अध्यक्ष निर्वाचित भएर जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभएका अधिकारी २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको थियो । प्रस्तुत छ, राजनीति र समाजसेवामा लामो अनुभव संलाग्नुभएका उम्मेदवार अधिकारीसँग दैनिक24 खवरका लागि मोहन पौडेलले गरेको कुराकानिको सम्पादीत अंश
दीपेन्द्र जी, निर्वाचन प्रचारप्रसारको अन्तिम अन्तिम र मतदानको दिन नजिकिँदै गर्दा कस्तो महशुस गर्नुभएको छ ?
चुनाव हामीले जितिसकेका छौँ, अब बैधानिकता प्राप्त गर्न मात्र बाँकी छ । यहाँका सबै मतदाताहरुमा अत्यन्त उत्साह छ, चाँडै सूर्यमा मतदान गरुँ र विजयीको शिखरमा पुर्याऔँ भनेर आदरणीय मतदाताहरु आतुर हुनुहुन्छ । अब मंसिर ४ गते मतदान गरेपछि हाम्रो विजयको लहर शुरु हुनेछ ।
विजयी हुन्छु भनेर ढुक्कका साथ भन्नुभयो, त्यसको आधार के हो ?
आधार भनेको एक त यहाँ पहिला जितेकाहरुले अहिलेसम्म केही पनि काम नगरेको,जस्तो तीन पटक जितेर पन्ध्र वर्षसम्म सांसद भएकाले पनि केही नगरेको देखियो । अर्काे हुनुहुन्छ, तीन पटकसम्म निर्वाचन लड्दा पनि असफल भएको र उहाँँहरुको एजेन्डा पनि उपयुक्त नभएर जनताले मन नपराएको कारण पनि छ । त्यसकारण नेकपा एमाले जुन आफ्नै नीति, सिद्धान्त, विचार, कार्यक्रम छ, जबजब सरकारमा जान्छ तब देश र जनताको हीतमा काम गरेको थुप्र्रै उदाहरणीय कामहरु छन् ,स–सानोदेखि लिएर थुप्रै राष्ट्रिय गौरवका योजनासम्म । हामीले देश र जनताको पक्षमा गरेका काम नै जीतका आधार हुन् । एमाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अखण्डता कायम राख्ने पार्टी हो, राष्ट्रवादी हो, त्यसले पनि एमाले प्रति लहर देखिएको छ ।
तपाईलाई नै किन मतदान गर्ने, तपाईका एजेन्डा के हुन् ?
मलाई मतदान किन गर्ने भने, यो क्षेत्र हामीले देखेदेखि नै पछि परेको छ । जब यसअघि एमालेको नेतृत्वमा तीन वर्षको सरकार बन्यो,त्यो बेलामा यहाँ विकासका लहरहरु अगाडि आए । हाम्रो यही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित बैजनाथ चौधरी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्थ्यो, त्यसबेला यहाँ अर्र्बाैँका बजेट भित्राएर ऐतिहासिक विकासका काम भए । पन्ध्र वर्षसम्म सांसद भएर पनि काम गर्न नसकेका सांसदको अगाडि तीन वर्षमा थुप्रै कामहरु गरेर देखाईएको छ । नेकपा एमाले यो मुलुकको आमूल परिवर्तन चाहन्छ । यहाँका गरीब, किसान, शोसित मजदुर, पीडितहरुको अनुहारमा मुस्कान चाहन्छ र एमालेले नै यो देशको उन्नती, प्रगति, समृद्ध नेपाल, सुखी नेपाली कायम गर्ने जुन राष्ट्रिय संकल्प लिएको छ, त्यसलाई पूरा गर्नको लागि र राष्ट्र, राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय अखण्डता, अभिमानलाई उच्च राख्नको लागि साथै यहाँका सबै समस्याहरुलाई समाधान गर्नको लागि पनि मलाई अर्थात एमालेलाई मतदान गर्न आवश्यक छ ।
तपाईलाई भनौँ, यस क्षेत्रको दक्षिणतर्फ शिक्षाको स्तर अत्यन्तै कमजोर छ, स्वास्थ्यको स्तर हेर्नुहुन्छ भने सबभन्दा पूरानो पृथ्वीचन्द्र अस्पताल कति पछाडि थियो, प्रदेशमा एमालेको सरकार हुँदा बैजनाथ चौधरीले रु २५ लाख बजेट विनियोजन गरेपछि अहिले दु्रत गतिमा नयाँ भवन बनिरहेको छ । उक्त अस्पताललाई स्तरवृद्धि गरी उच्च सेवा दिन चाहन्छौँ । सबभन्दा पूराना पाल्ही क्याम्पस अहिलेसम्म त्यो जीर्ण अवस्थामा छ, केही सुधार हुन सकेको छैन् । यो भन्दा पछि स्थापना भएका क्याम्पसहरु धेरै अगाडि बढिसके, हामी यसलाई सुधार गर्न चाहन्छौँ। सडकको कुरा हेर्नुस्,मैले हेरेँ, पाल्हीनन्दन गाउँपालिका भित्र अहिले पनि वर्षातमा एम्बुलेन्स जान नसक्ने अवस्थाका सडक छन् । पन्ध्र वर्षसम्म सत्ता र सांसदमा बसिँरहेको बेला चाहेको भए आफ्नै गाउँपालिका सुनको चिढिया बनाउन सक्ने अवस्था थियो तर केही पनि नगरेको देखियो । खानेपानीको त्यस्तै समस्या छ । नागरिकहरु आर्सेनिक पानी खान बाध्य छन् । सरसफाइको कमी छ, मान्छेको जीवन स्तरमा कुनै परिवर्तन आएको छैन् । यी सबै समस्याहरु र ती झुप्रा भप्रासम्मका जनताको जीवनस्तर माथि उकास्नको लागि पनि अहिले मतदाताहरु हामीलाई मतदान गर्न आतुर हुनुहुन्छ ।
तपाईको प्रतिस्पर्धा को सँग छ ?
मलाई त लाग्छ, प्रतिस्पर्धा नै कसैसँग छैन् । किनभने ठूलो मतान्तरका साथ हामी चुनाव जित्दैछौ । अहिले नवलपरासी क्षेत्र नं २ को एमाले उम्मेदवार म दीपेन्द्र अधिकारी १५ हजार २५५ मतको फराकिलो मतान्तरले चुनाव जित्दैछु । त्यसैले मैले प्रतिद्धन्द्धी नै भएको महशुस गरेको छैन् । हाम्रो यो क्षेत्रमा जसपा नेपालसँग पनि चुनावी गठबन्धन भएकोले प्रदेशसभा २ ख मा हाम्रो साझा उम्मेदवार जसपाका अध्यक्ष धरेन्द्र यादव पनि ठूलो मतान्तरका साथै विजयी हुँदै हुनुुहुन्छ । प्रदेशसभा २ क मा एमालेका थानप्रसाद गैरेको विजयी घोषणा मात्र बाँकी छ । क्षेत्र नं. १ मा पनि प्रतिनिधिसभामा हृदयेश त्रिपाठी र प्रदेशसभा क र ख दुवैमा एमालेका उम्मेदवारले चुनाव जित्दै हुनुहुन्छ ।
मतदातालाई के भन्नुहुन्छ ?
आदरणीय मतदाताज्यूहरुलाई म के अनुरोध गर्न चाहन्छु भने मतदानको दिन अन्तिम अन्तिम तर्फ आउँदैछ,अहिलेसम्म सुर्य ध्वजाबाहक उम्मेदवारलाई जिताउन जसरी लाग्नुभयो, अब ४ गतेसम्मको समयमा पनि अझै लागेर सबैलाई सम्झाउने बुझाउने काम गर्नुहोला । अव पनि काम नगर्ने र भुलभुलैयामा पार्ने मान्छेले चलखेल गर्न सक्छन् गाउँघरमा पैसा, रक्सी, मासु बाँड्न सक्छन्,हामी स्वाभिमान नेपालीहरुको स्वाभिमानलाई किन्न सक्छन्,किन्ने कोसिस पनि भईरहेको छ, यसलाई खवरदारी गर्दै आफ्नो स्वाभिमानलाई बचाएर राख्नुस् । जसले यो देश र आफ्नो क्षेत्रमा कुनै पनि काम गरेनन् र अकुत सम्पती आर्जन गरेका छन् उनीहरुको पैसा खाईदिनुस् तर मत एमालेको सूर्य चिन्हमा र प्रदेशसभा ख मा छाता चिन्हमा दिनुहोस् म यही अनुरोध गर्न चाहन्छु । जितिसकेपछि तपाईहरुको घरदैलोमा हामी आउनेछौँ र तपाईहरुकै सल्लाह र सुझाव अनुसार हामी अगाडि बढ्नेछौँ । तपाईहरको शीर झुक्न दिनेछैनौ,सदासदा शीर उचो हुने काम गर्नेछौँ । धन्यवाद ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस