२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाद्धारा अनुदानमा गहुँको बीउ वितरण शुरु,समयमै बीउ पाउँदा कृषक खुशी

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित ( साल अघि) ४३७ पाठक संख्या

मोहन पौडेल
परासी, २२ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर भित्रका गहुँ खेतीमा संलग्न कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गर्न शुरु गरेको छ । नगरपालिकाले यस वर्ष समयमै कृषकलाई पचास प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएको हो ।
नगरका १८ वटै वडाका कृषकलाई बीउ वितरण गर्ने योजना अनुसार आज वडा नं.१५ र १७ बाट गहुँको बीउ वितरण शुरु गरिएको नगर प्रमुख धनपत यादवले दैनिक24खवरलाई जानकारी दिनुभयो । कृषकलाई गहुँको बीउ वितरण गर्दै नगर प्रमुख यादवले गहुँको उत्पादन बृद्धि गर्न र परम्परागत जातको गहुँको बीउलाई विस्थापित गरी उन्नत जातको गहुँको बीउमा पहुँच बढाउन यस वर्ष समयमै अनुदानमा बीउ वितरण गरिएको बताउनुभयो । उन्नत जातको बीउको प्रयोगले गहुँ उत्पादनमा वृद्धि हुने अपेक्षा राखिएको उहाँको भनाई छ ।
कृषि उत्पादनका लागि बीउ गुणस्तरीय हुनुपर्ने र अन्यत्रबाट बीउ खरीद गर्दा कमजोर पनि पर्न सक्ने भएकोले नगरपालिकाले नै सहुलियतमा उन्नत जातको गहुँको बीउ वितरण गर्दा धेरै कृषक लाभावन्ति भएको मेयर यादवले बताउनुभयो । धान काटेर गहुँ लगाउने सोचमा रहेका कृषकहरु समयमै अनुदानमा गहुँको बीउ प्राप्त गरेपछि खुशी भएका छन् ।
कृषकलाई गहुँको खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले यो वर्ष नगरपालिकाका १८ वटै वडाका एक हजार ३५७ जना कृषकलाई ५५६ क्वीन्टल गहुँको बीउ वितरण गरिने कृषि विकास शाखाका प्रमुख सनत कुमार गिरीले जानकारी दिनुभयो । बजारमा गहुँको बीउ खरीद गर्दा महँगो पर्ने तथा बीउ गुणस्तरीय नहुने भएकोले नगरपालिकाले अनुदानमा बीउ दिएपछि कृषकलाई सजिलो भएको उहाँले बताउनुभयो । मागको आधारमा विजय, भृकुटी, एनएल जातका उन्नत गहुँको बीउ अनुदानमा उपलब्ध गराइएको हो । नगरपालिकाले कृषिको क्षेत्रमा समयानुकुलका बीउ,बीजन, यन्त्र उपकरण लगायत उपलब्ध गराउँदै आएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस