२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

गलत बाटोमा गईरहेको राजनीतिलाई मतदानबाट सच्याउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) १२१९ पाठक संख्या

मोहन पौडेल
परासी, १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत बाटोमा गईरहेको नेपालको राजनीतिलाई मतदानबाट सच्याउन आह्वान गर्नुभएको छ । देशलाई प्रगति र नयाँ दिशामै लैजाने पार्टी राप्रपा मात्रै रहेको उहाँले बताउनुभयो ।
राप्रपा नवलपरासीले आज सुनवलमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेर्न चाहने भए राप्रपालाई जिताउन आग्रह गर्नुभयो । ३० वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका कांग्रेस र कम्यूनिष्टलाई भोट दिने अनि देश बनेन भन्ने छुट कसैलाई नभएको उहाँको जिकिर थियो ।
उहाँले भन्नुभयो, “मंसिर ४ गते हुने निर्वाचन आवधिक भएपनि अहिलेको निर्वाचनको छुट्टै महत्व छ, यो चुनाव हाम्रो र हाम्रो मातृभूमिको भविष्यसँग जोडिएको छ,भोट दिनु भनेको छोरी दिनु भन्दा पनि ठूलो कुरा हो, छोरी गलत व्यक्तिको हातमा पर्दा एउटा छोरीले दुःख पाउँछे तर भोट गलत व्यक्तिलाई दिँदा सिंगो देशले नै दुःख पाईरहेको छ”
कांग्रेस माओवादी सहितको गठबन्धनबाट अव यो मुलुक बन्न नसक्ने बरु ओरालो लाग्दै गएको उहाँको टिप्पणी थियो । २६ वर्षसम्म सरकारको नेतृत्व गरेको कांग्रेसले नागरिकता, सुकुम्बासी समस्या लगायतका थुप्रै समस्या समाधान गर्न नसकेकोले अब पनि गर्छ भन्ने आधार नै नरहेको लिङ्देनको भनाई थियो । देशको वर्तमान राजनीतिक प्रणालीकै कारण कांग्रेस कम्युनिष्टहरु असफल भएकोले अव असफल राजनीतिक प्रणालीलाई परिवर्तन गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
पूर्ण समानुपातिक संसद,जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,अभिभावकीय संस्थाको रुपमा राजा,प्रदेश खारेज गरी बलियो स्थानीय तह र केन्द्र सरकार,वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,निःशुल्क तथा समान शिक्षा, स्वास्थ्य र न्याय लगायतका एजेन्डासहित आफूहरु चुनावमा होमिएको भन्दै हलो चिन्हमा मतदान गरेर देश बनाउने अवसर दिन लिङ्दनेले आह्वान गर्नुभयो ।
यस्तै राप्रपा उपाध्यक्ष एवं पश्चिम नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार धु्रबबहादुर प्रधानले आफू सँधै जनताको साथ र सेवामै रहेकोले अथाह माया र स्नेह पाईरहेको बताउनुभयो । उहाँले राप्रपाले ल्याएको घोषणापत्र कार्यान्वयनमा पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यस क्षेत्रमा व्याप्त किसानका समस्या, सुकुम्बासी समस्या, बाढी डुबान लगायतका समस्या समाधान गर्न सक्षम रहेको बताउनुभयो । उहाँले आदिवासी संस्कृतिको संरक्षणसहित परिवर्तनका लागि राप्रपालाई अवसर दिएर हेर्न अनुरोध गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस