२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा पिकनिक खाएर फर्किदाँ डुङ्गा पल्टियो, तीनको मृत्यु, दुई घाइते

२०७९ कार्तिक १४, सोमबार प्रकाशित ( साल अघि) १३८८ पाठक संख्या

मोहन पौडेल
परासी, १४ कात्तिक । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्लामा आज साँझ डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् । घाईतेको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको सुस्ता गाउँपालिका–४ स्थित नर्सही घोलामा आज साँझ साढे छ बजेको समयमा डुङ्गा पल्टिँदा डुङ्गामा सवार तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले दैनिक24 खवरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा सुस्ता–४ गोकुलनगर बस्ने २२ वर्षीय गुड्डु हरिजन,१८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ता छन् । नदीमा डुबेको अवस्थामा उनीहरुलाई उद्धार गरिएको थियो । घटनामा परी घाइते भएका सोही ठाउँ निवासी २२ वर्षीय किशोर हरिजन र पन्ध्र वर्षीय सोहित सहानीको अवस्था गम्भीर छ ।
सोही वडाको गोकुलनगरका सात जना यूवाहरु नर्सही घोला पारी पटनहियामा वनभोज खाएर फर्कने क्रममा सात मध्ये पाँच जना सवार डुङ्गा नर्सही घोलामा अचानक पल्टिएको हो । घटना लगत्तै प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा डुबिरहेका पाँचै जनाको उद्धार गरी सहीद स्मृत्ति सामुदायिक अस्पताल चौपत्तामा उपचारको लागि लगिएकोमा अस्पतालले राति आठ बजे तीन जनालाई मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
घाईते दुई जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । वनभोज खान गएका सात जना मध्ये २५ वर्षीय जीतेन केवट र ३० वर्षीय नारायण चमार भने सुस्ता–३ मर्चहवा गाउँबाट सकुशल घर फर्किएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%३%

प्रतिक्रिया दिनुहोस