२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सामान्य सुविधा पनि छैन् परासीको मंगलबारे पशु हाटबजारमा

२०७९ कार्तिक ९, बुधबार प्रकाशित ( साल अघि) ११३१ पाठक संख्या

मोहन पौडेल
परासी, ९ कात्तिक । पशुपालक कृषकहरुलाई बजारको सहज पहुँचमा पुर्याउने उद्देश्यले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा वर्षाैँदेखि सञ्चालन हुँदै आएको साप्ताहिक पशु हाटबजारमा सामान्य पूर्वाधार पनि छैन् । रामग्राम नगरपालिकाको वडा नं. ८ मा प्रत्येक मंगलबार सञ्चालन हुने उक्त हाटबजारमा आधारभूत पूर्वाधारको व्यवस्था नहुँदा पशुको संख्या घट्न थालेको छ ।
सामान्य सुविधा पनि नभएपछि पशुपालक कृषकहरु आउन नमान्दा व्यवसायीहरु मारमा पर्न थालेको स्थानीय व्यापारीहरुले बताएका छन् । यो पशु हाटबजारमा स्थानीय कृषकले आफूले पालेका भैँसीपाडा विक्रीका लागि ल्याउने गरेका छन् ।
तर हाट बजार सञ्चालनका लागि सामान्य सुविधा पनि नहुँदा पछिल्लो समय कृषकहरु भैँसी बिक्रीका लागि आउन छाडेको व्यवसायी अरमान खानले बताउनुभयो । हाटबजारमा खानेपानी, शौचालय, बिजुली तथा स्तरीय सडक लगायत आधारभूत पूर्वाधारको अभाव छ भने वरपर तारबार पर्खालसमेत नहुँदा असुरक्षा महशुस भईरहेको उहाँले बताउनुभयो ।
बजारमा सेडको कमीले भैँसी पाडा ल्याएर बाँध्ने र चारा हाल्ने ठाउँसमेत नहुँदा खुल्ला चौरमा राखेर भैँसी बिक्री वितरण गर्न बाध्य रहेको पशु हाट बजारमा आएका कृषकहरुले गुनासो गरेका छन् । नगरपालिकाले वार्षिक कर उठाउने तर सामान्य सुविधाको व्यवस्थापन नगरिदिँदा आफूहरुले सास्ती खेप्नुपरेको व्यवसायी मोहन कार्कीले बताउनुभयो । सुविधा अभावकै कारण पछिल्लो समय भैँसी बिक्रीका लागि कृषकहरु पशु हाटबजारमा न्यून संख्यामा आउन थालेको व्यवसायी दीपक क्षेत्रीले बताउनुभयो ।
परासीको भैँसी बजारमा पशुको खरिद बिक्रीको लागि ठूलो संख्यामा व्यापारी र कृषकहरु आउने गरेकोमा अहिले घट्दै गएको उहाँको भनाई छ । पशु हाट बजार पशुपालक कृषकको लागि आम्दानीको स्रोत हो भने स्थानीय व्यवसायी तथा यूवावर्गले रोजगारी पाईरहेको क्षेत्र पनि हो । तर पछिल्लो समय हाट बजारमा पशुको कमी हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन् ।  हाटबजार नै संकटमा पर्न थालेको व्यवसायीको गुनासो छ । रामग्राम नगरपालिकाले ठेक्का आह्वान मार्फत यो वर्ष हरिओम निर्माण सेवा पाल्हीनन्दनलाई करिब रु ३५ लाखमा ठेक्का बन्दोबस्त गरेको छ । तर हाट बजारमा पशु घट्दै जानु, सुविधा नहुनुले यहाँ आउने कृषक र व्यवसायी समस्यामा परेको स्थानीय भैँसी व्यापारीको गुनासो छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस