२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९ आश्विन २०, बिहिबार प्रकाशित ( साल अघि) ७६१ पाठक संख्या

मोहन पौडेल
परासी, २० असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पश्चिम नवलपरासीका दुई वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. १ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
क्षेत्र नं.२ को जिल्ला सदरमुकाम परासीस्थित कृषि ज्ञान केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने क्षेत्र नं. १ को बर्दघाट नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको आज एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीस खडानन्द तिवारीले उद्घाटन गर्नुभयो । कार्यालय स्थापनासँगै अव निर्वाचन तालिका अनुसार गतिविधि अघि बढ्ने बताउँदै मुख्य निर्वाचन अधिकृत तिवारीले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबैको सहयोग सहकार्य आवश्यक हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मर्यादीत र भयरहित वातावरणमा सम्पन्न गर्न सुृरक्षा व्यवस्था चुस्त बनाईएकोले भयरहित वातावरणमा निर्वाचन गतिविधि अघि बढ्ने बताउनुभयो ।
आजै क्षेत्र नं. १ को बर्दघाट नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगले क्षेत्र नं. १ का लागि न्याय परिषद् सचिवालयका उपसचिव दुर्गाप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत र क्षेत्र नं. २ को लागि जिल्ला न्यायधीस तिवारीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुजता खत्रीका अनुसार जिल्लामा महिला एक लाख १७ हजार ३४६ र पुरुष एक लाख १९ हजार ७७५ गरी कूल दुई लाख ३७ हजार १२५ मतदाता रहेका छन् । जिल्लामा १२० मतदान स्थल र २८७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यक्रम अनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस