२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सूचनामा सर्वसाधरणको सहज पहुँच हुनुपर्छ

२०७९ आश्विन १२, बुधबार प्रकाशित ( साल अघि) ९७५ पाठक संख्या

मोहन पौडेल
परासी, १२ असोज । सार्वजनिक सरोकारका सूचनामा सर्वसाधरण नागरिकको सहज पहुँच हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । थाहा पाउने नागरिकको संवैधानिक अधिकारलाई कुण्ठित गर्न नहुने उनीहरुको भनाई थियो ।
अन्र्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसको अवसरमा आज परासीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् । भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सेवा प्रदायक निकायले सूचना लुकाउन नहुने बताउनुभयो ।
सार्वजनिक निकायले त्रैमासिक रुपमा सुचना सार्वजनिक गर्नुपर्ने तथा सूचना माग गर्ने जो कोहीलाई पनि सूचनाबाट वञ्चित गर्न नहुने उहाँले बताउनुभयो ।
प्रजिअ पोखरेले नेपालमा मात्र नभई विश्वव्यापी सूचनामा पनि आम नागरिकको पहुँच हुनुपर्नेमा जोड दिनुभयो । सूचनाको हक सम्बन्धि सचेतना गाउँगाउँमा फैलाउनुपर्ने बताउँदै नागरिक स्तरबाट पनि सूचना माग गर्न कन्जुस्याई हुने गरेको बताउनुभयो ।
भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष कैलाश ठाकुरले थाहा पाउने संवैधानिक अधिकार सार्वजनिक पद धारणा गर्ने व्यक्तिबाट हनन् हुने गरेको बताउनुभयो । सूचना दिनेलाई डर छ, पवित्र मनले काम गरेको भए लुकाउनै पर्दैन, स्वार्थ वा भुलवस गरेका त्रुटिका कारण त्यसलाई त्यसलाई दबाउन ती निकायबाट थप गलत कामहरु ह्ुने गरेका छन्, ठाकुरले भन्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं अधिवक्ता बाबुराम खड्काले सूचनाको हकको महत्व, संवैधानिक व्यवस्था, ऐन कानुन, समस्या लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
उहाँले सूचना लुकाउने,नागरिकमा शिक्षा र सचेतनाको कमी,सार्वजनिक निकायका पदाधिकारीमा तालिमको कमी,अनावश्यक हिसावले सूचना माग गर्ने र दुरुपयोग गर्ने,विकृत्ति ढाकछोप गर्न खोज्ने जस्ता कारणले सूचनाको सहज पहुँच हुन नसकेको बताउँदै कानूनको पूर्ण कार्यान्वयन, सार्वजनिक कार्यको पारदर्शिता,नागरिक शिक्षा,सूचनादातालाई सुरक्षाको प्रत्याभूति लगायतका कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । राजनीतिक दल, कार्यालय प्रमुखहरु, सञ्चारकर्मी, संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका सदस्य रामजी ज्ञवालीले दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष बीना चौधरीले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस