२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

यी हुन् सुनवल नगरपालिकाले मेयर अर्यालको नेतृत्वमा सय दिनमा हासिल गरेका मूख्य उपलब्धी

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित ( साल अघि) ९२२ पाठक संख्या

दैनिक 24 खवर
सुनवल,७ असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको कार्यअवधि १०० दिन पूरा भएको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिहरुको नेतृत्वमा सय दिनको अवधिमा नगरपालिकाले नागरिकको अपेक्षा अनुसारका कामको शुरुवात गरेको दाबी गरेको छ ।
सुनवल नगरपालिका लुम्बिनी प्रदेशमै एकमात्र महिला मेयर पाएको नगरपालिका हो । समृद्ध नगर सुखी नगरवासी बनाउने संकल्पका साथ नगरवासीको चाहना अनुसारको समृद्धि र समन्नतिको लक्ष्य पूरा गर्न आफू अहोरात्र जनताको सेवामा समर्पित रहेको मेयर बिमला अर्यालले बताउनुभयो ।
नगरपालिकाले यस अवधिमा सुशासन तथा संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वनवातावरण तथा विपद् व्यवस्थापन तथा अन्य अभियानमुखि कार्यक्रम अन्र्तगत महत्वपूर्ण उपलब्धी हासिल गरेको नगर प्रमुख अर्यालले बताउनुभएको छ ।
निःशुल्क खानेपानीको व्यवस्थादेखि ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षणसम्मको कामहरु सुनवल नगरपालिकाले सय दिनको अवधिमा सम्पन्न गरेको छ । नगर भित्र महिनामा पाँच हजार लिटर सम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई साउन १ गतेदेखि नै निःशुल्क गरिएको छ । अति विपन्न परिवारलाई निःशुल्क धारा जडानका साथै धारा जडान शुल्क र पानी महशुलमा एकरुपता कायम गरिएको नगर प्रमुख अर्यालले बताउनुभयो ।
मृगौला रोगीको उपचारका लागि गौतम बुद्ध मुटु अस्पताल बुटवलसँगको सहकार्यमा सुनवलमै मृगौला डायलाईसिस सेवा केन्द्र सञ्चालनको प्रक्रिया थालिएको छ भने नगरका करिब पाँच हजार ज्येष्ठ नागरिकलाई घरमै पुगी स्वास्थ्य परीक्षण तथा औषधी उपचारको कार्य शुरु गरिएको छ ।
डेँगु रोग नियन्त्रणका लागि नगरका सबै वडामा लार्भा खोज र नष्ट अभियान सञ्चालन गरिएको छ भने नगर भित्रका एक हजार ५१० जना महिला उद्यमीको तथ्यांक संकलन गरी व्यवसाय प्रवद्र्धन योजना निर्माण गरिएको मेयर अर्यालले बताउनुभयो ।
सुनवलको बाबा बर्दगोरिया धाममा तुल्सीराम संस्कृत गुरुकूल विद्यालय स्थापना गरिएको छ भने महिला विद्यालय स्थापना गर्ने अवधारणा अघि सारिएको छ । विद्यालयहरुमा अनुगमन गरी दिवा खाजाको गुणस्तर सुधार गर्न निर्देशन गरिएको छ । कृषिलाई व्यवसायीकरण र पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनको लागि पहल थालिएको छ ।
पूर्वपश्चिम राजमार्ग निर्माणमा ढिलाई हुँदा जनताले खेप्नुपरेको सास्ती समाधन गर्न सम्बन्धित पक्षसँग सहकार्य गरी मर्मत तथा मूख्य चोकमा डिजाईन परिवर्तन गर्न लगाईएको छ । मेयर अर्यालका अनुसार वर्षाेँदेखि पानी निकासको उपयुक्त व्यवस्था नभएको कारण डुबानमा परेका बस्तीहरुमा नगरपालिकाका साधन प्रयोग गरी पानी निकासको व्यवस्था मिलाई डुबानबाट बचाईएको छ भने नदी कटानको समस्या समाधान गर्न भोर्लावास खोला, पानभार खोला,भूमही खोलाका विभिन्न स्थानमा नदीको वहाव परिवर्तन गरिएको छ।
हिलोमुक्त नगर बनाउने अभियान अन्र्तगत नगरको १२.५२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने नगरका विभिन्न स्थानमा विद्युत ट्रान्सफर्मर जडान गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेका योजनाको कार्यान्वयनको लागि सम्झौता शुरु गरिसकेको जनाएको छ।
नागरिकलाई प्रत्यक्ष लाभ र सुविधा दिने उद्देश्यले नगरपालिका र सबै वडा कार्यालयहरुमा नागरिक सहायता कक्षको व्यवस्था गरी सेवाग्राहीलाई आवश्यक पर्ने फोटोकपी र निवेदन निःशुल्क व्यवस्था मिलाईएको छ भने सबै वडा कार्यालयलाई फोटोकपी मेसिन उपलब्ध गराईएको मेयर अर्यालको भनाई छ ।
सय दिनकै अवधिमा आर्थिक वर्ष २०७९।८० को बजेट,नीति तथा कार्यक्रम पनि ल्याएको छ । ११ औँ नगर सभाबाट पारित आगामी योजनाहरुमा नगर प्रमुख महिला उत्थान कार्यक्रम,महिला र बालबालिकासँग मेयर कार्यक्रम,नगर प्रमुख छात्रवृत्ति कोष स्थापना,उपमेयर आवास विहीन कार्यक्रम,कृषि स्रोत केन्द्र स्थापना,विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई निःशुल्क आवासीय विद्यालय स्थापना,दुई वटा नमूना होमस्टे सञ्चालन लगायतका दीर्घकालिन महत्वका योजनाहरु समेएिका छन् ।
समृद्धि सुनवल बनाउने अभियानमा अहिलेको जनप्रतिनिधिको नेतृत्व क्रियाशील रहेको बताउँदै नगर उपप्रमुख सूर्यप्रसाद दुवेले नगरवासीकै चाहना, माग र सुझाव सल्लाहका आधारमा नगरको समग्र विकासमा प्रतिवद्ध रहेको बताउनुभयो । यस नगरलाई नमूना नगरको रुपमा स्थापित गर्न आफूहरु निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%७%२%५%

प्रतिक्रिया दिनुहोस