२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाटमा सुधारात्मक बजार अनुगमन

२०७९ श्रावण ३१, मंगलबार प्रकाशित ( साल अघि) १५२५ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ साउन । पश्चिम नवलपरासीको बर्दघाट बजारमा आज अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा संयुक्त जिल्ला बजार अनुगमन समितिले बर्दघाटस्थित बजार क्षेत्रका व्यवसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको हो ।
पश्चिम नवलपरासीमा आर्थिक वर्ष २०७९।८० को यो पहिलो बजार अनुगमन हो । चालु आर्थिक वर्षमा विभिन्न १२ क्षेत्रमा महिनाको कम्तिमा दुई पटक अनुगमन गर्ने कार्ययोजना अनुसार आज पहिलो अनुगमन बर्दघाट बजारमा गरिएको सहायक प्रजिअ अर्यालले जानकारी दिनुभयो । गत आवको बजार अनुगमनको समिक्षा गर्दै यस आवमा २४ पटक अनुगमन गर्ने कार्ययोजना बनाईएको छ ।
सोही अनुरुप आज बर्दघाट बजारका खाद्यन्न, फेन्सी, रेष्टुरेण्ट,होटल,फलफूल लगायतका ११ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको उहाँले बताउनुभयो । अनुगमनको क्रममा अधिकांश पसलहरुमा खरिद बिक्री खाता अपडेट नगरिएको, करपाटी नराखिएको,दर्ता तथा नवीकरणका प्रमाणपत्रहरु देखिने गरी नराखेको,होटल रेष्टुरेण्टमा सरसफाइको अभाव, बिल बिजक नियमित नभएको, म्याद गुज्रेका सामान राख्ने छुट्टै क्षेत्र नतोकिएको, लेवल नभएका वस्तु विक्री गरिएको,साईनबोर्ड नराखेको लगायतका समस्या भेटिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधार पाण्डेले जानकारी दिनुभयो । लेबल नभएका वस्तु जफत गरी नष्ट गरिएको छ ।
कैफियत देखिएका पसलहरुलाई एक हप्ता भित्र सुधार गरी त्यसको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाउन निर्देशन गरिएको उहाँले बताउनुभयो । केही पसल दर्ता बिनै सञ्चालनमा रहेको पनि भेटिएको थियो । बर्दघाट बजारमा अनुगमन हुँदै गर्दा केही व्यवसायीहरुले भने पसल नै बन्द गरेर भागेका थिए ।
सहायक प्रजिअ अर्यालको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पाण्डे, करदाता सेवा कार्यालय परासीका प्रमुख विकल्प भट्टराई,बर्दघाट नगरपालिकाकी प्रतिनिधि जमुना सुवेदी, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र केसी, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल, पत्रकार लगयातको टोलीले बजार अनुगमन गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%३%३%

प्रतिक्रिया दिनुहोस