२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

वनकट्टी र छडेनी जोड्ने झरही खोला पुलको मन्त्री यादवद्धारा उद्घाटन

२०७९ श्रावण १०, मंगलबार प्रकाशित ( साल अघि) ५८६ पाठक संख्या

मोहन पौडेल
परासी, १० साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्थित वनकट्टी र छडेनी जोड्ने गरी झरही खोलामा निर्माण गरिएको मोटरवेल पुलको उद्घाटन गरिएको छ । आज एक समारोहकाबीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उक्त पुलको उद्घाटन गर्नुभएको हो ।
मन्त्री यादवले पुल निर्माण भएसँगै यस क्षेत्रका नागरिकलाई आवातजावतमा सहज भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले सुनवल क्षेत्रमा प्रर्याप्त बजेट विनियोजन गर्दै आएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
यहाँ पुल निर्माण भएपछि वनकट्टीका बासिन्दालाई सदरमुकाम परासी आवत–जावत गर्न तथा छडेनीका बासिन्दालाई सुनवल नगरपालिका आउन–जान समेत सहज भएको छ । छडेनीबाट वनकट्टी पढ्न जाने विद्यार्थीलाई समेत सहज भएको स्थानीयवासीले बताएका छन् ।
लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको पहलमा उक्त पुल निर्माण गरिएको थियो ।विसं. २०७६ साल चैत्र ४ गते सम्झौता भई गत असारमा सम्पन्न भएको उक्त पुल प्रदेश सरकारको रु आठ करोड छ लाख बीस हजार २९६ रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख ललित न्यौपानेले बताउनुभयो ।
पुल निर्माणको जिम्मा अर्घाखाँची इन्जिनियर्स एण्ड विल्डर्स कम्पनीले पाएको थियो । पुलको लम्बाई ८२.८५ मिटर,चौडाई दश मिटर र उचाई ६.१३ मिटर रहेको न्यौपानले बताउनुभयो ।
सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले सुनवल क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो । उहाँले सुनवलमा रिङ्ग रोड निर्माणमा बजेट अभाव रहेकोले उक्त कार्य पूरा गर्न मन्त्रालयबाट सहयोग गर्न मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो ।
आजै मन्त्री यादव र नगर प्रमुख अर्यालबीच सुनवल नगरपालिका कार्यालयमा भेटघाट तथा विकास निर्माणबारे छलफल भएको छ । नगर प्रमुख अर्यालले सुनवल नगरमा भईरहेको विकास निर्माणको अवस्था र प्रदेश सरकारबाट गरिएका अपेक्षाको विषयमा प्रकाश पार्नुभएको थियो । मन्त्री यादवले सुनवलको विकासमा प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस