२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलमा मृगौला डायलाईसिस सेवा केन्द्र स्थापनाका लागि मुटु अस्पताल र नगरपालिकाबीच सम्झौता

२०७९ अषाढ २१, मंगलबार प्रकाशित ( साल अघि) १२७४ पाठक संख्या

मोहन पौडेल
परासी, २१ असार । पश्चिम नवलपरासीको सुनवलमा सामुदायिक मृगौला डायलाइसिस सेवा केन्द्र स्थापनाका लागि सम्झौता भएको छ । सुनवल नगर प्रमुख बिमला अर्यालको विशेष पहलमा स्थापना हुन लागेको डायलाईसिस सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि आज सुनवल नगरपालिका र बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
सुनवल नगर प्रमुख अर्याल र मुटु अस्पतालका अध्यक्ष एजाज आलमले सम्झौता पत्रमा हस्ताक्षर गर्दै सेवा केन्द्रबाट छिटो सेवा सुचारु गर्ने गरी काम थालिने बताउनुभयो । १० वटा मेशिन सहित सुनवलको बालमैत्री सिकाई केन्द्रको भवनमा नवलपरासी सामुदायिक मृगौला डायलाईसिस सेवा केन्द्र सञ्चालन हुनेछ । सेवा केन्द्रको स्थायी संरचना नहुँदा सम्मको लागि उक्त स्थानमा सञ्चालन गर्ने सहमति भएको हो । सेवा केन्द्र आगामी साउन देखि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
मृगौला पीडित बिरामीका लागि डायलाशिस गर्न जिल्लामा सेवा नहुँदा बृटवल, भैरहवा,चितवन र काठमाडौ जानुपर्ने बाध्यता थियो । अब भने उक्त बाध्यता हट्नेछ । मुटु अस्पतालका अध्यक्ष आलमले डायलाईसिस सेवा सञ्चालन गर्न मिल्ने गरी उक्त भवन पुननिर्माण गरी डायलासिस मेशिन जडानको काम तत्कालै शुरु गरिने जानकारी दिनुभयो । हाल १० वटा मेसिनबाट बिरामीहरुको मृगौला डायलाईसिस गरिने र बिरामीको चाप बढ्दै गए विस्तारै सेवा र सुबिधा थप गरिने उहाँले बताउनुभयो ।
सुनवलमा स्थापना हुने सेवा केन्द्रबाट सुनवलसहित पश्चिम नवलपरासीका मृगौला पीडित विरामीले सेवा पाउने छन् । करिब रु ५ करोडको लागतमा स्थापना हुने उक्त सेन्टरमा दैनिक २० जना विरामीको नियमित डायलाईसिस गरिने अध्यक्ष आलमले बताउनुभयो ।
उहाँका अनुसार पश्चिम नवलपरासी जिल्लाबाट ४२ जना विरामी नियमित डायलाईसिसका लागि बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा जाने गरेका छन् । त्यसमध्ये अधिकांश सुनवलका बिरामी रहेकोले पनि सेवा केन्द्र सुनवलमा सञ्चालन गर्न लागिएको सुनवल नगर प्रमुख अर्यालले बताउनुभयो ।
सुनवलमै डायलाईसिस सेवा उपलब्ध हुने भए पछि यहाँका बिरामी अब टाढा जानुपर्ने बाध्यताबाट मुक्त हुने उहाँले बताउनुभयो । उक्त सेवा केन्द्रमा तालिम प्राप्त विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने नगर प्रमुख अर्यालले बताउनुभयो ।
सुनवल नगर उपप्रमुख सूर्यप्रसाद दुवेले डायलाईसिस सेवा केन्द्रको स्थापना पछि यहाँका बिरामीलाई सहज हुने बताउनुभयो । उहाँले सकेसम्म मृगौलालाई चुस्त राख्ने गरी सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । वडा नं. ११ का वडा अध्यक्ष कमल च्वाईले सेवा केन्द्र स्थापना हुनु खुशीको कुरा भएको बताउँदै उक्त सेवा केन्द्रबाट स्वास्थ्यका अन्य थप सेवा समेत उपलब्ध गराउन पहल गर्नुपर्ने बताउनुभयो । सरकारले मृगौलाको डायलाईसिस सेवा निःशुल्क प्रदान गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%७%१%

प्रतिक्रिया दिनुहोस