२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

परासीको रामखण्डा खोलाको सरसफाइ बिहीबारदेखि – नगर प्रमुख यादव

२०७९ अषाढ १५, बुधबार प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार । बाढी नियन्त्रणका लागि पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित रामखण्डा खोलाको पनि सरसफाइ गरिने भएको छ । खोलामा रहेका जलकुम्भी, फोहोरजन्य वस्तु लगायतका कारण खोलाको पानी निकासीमा समस्या देखिएपछि खोलाको सरसफाइ गर्न लागिएको रामग्राम नगरपालिकाले जनाएको छ।
नेपाली सेना, नेपाल प्रहरी समेतको सहयोगमा नगरपालिकाले रामखण्डा खोला भोली विहीबारदेखि नै सरसफाइ गर्न लागेको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले जानकारी दिनुभयो । खोलाको नियमित सरसफाइ तथा अतिक्रमणका कारण वर्षेनी उक्त खोलामा आउने बाढीले ठूलो क्षति पुर्याउँदै आएको छ ।
गत वर्ष पनि सोही खोलाको बाढीले जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको रामग्राम व्यारेक लगायत पूर्ण रुपमा डुबाएको थियो । नगरपालिकाको व्यवस्थापकिय खर्चमा सेनाको व्यारेकदेखि नै खोलाको सरसफाइ गरिने नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले जानकारी दिनुभयो ।
यसैबीच अविरल वर्षासँगै रामखण्डा खोलामा बढेको पानीको वहावले सहज निकास नपाउँदा रामग्राम नगरपालिका वडा नं. १० स्थित लक्ष्मिपुर सिँचाइ बाँध क्षेत्रमा ताल परेको छ । निकासमा समस्या भएपछि आजै नगर प्रमुख यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सुरक्षा निकायका प्रमुखहरु तथा प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
सिँचाइको लागि टेवा पुगिरहेको उक्त बाँधमा पानीको फ्लो बढेको बेला निकासमा समस्या देखिएको नगर प्रमुख यादवले बताउनुभयो । निकासका लागि तत्कालै आवश्यक पहल गर्ने उहाँले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलले पानीको बहाव बढेको बेला खोल्न मिल्ने र अन्य समयमा रोक्न मिल्ने गरी बाँधमा व्यारेज जस्तै ढोका लगाउन सुझाव दिएको बताउनुभयो ।
बाढी नियन्त्रणका लागि नगरपालिकाले परासीको झरही खोलाको सरसफाइ गरेको छ भने सहुवाटिकरमा तटबन्ध निर्माण गरिरहेको नगर प्रमुख यादवले बताउनुभयो । बाढी नियन्त्रण आफ्नो प्रमुख एजेन्डा भएकोले सोही अनुसार काम गरिरहेको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस