२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलको ११ औँ नगरसभा – यस्तो छ आर्थिक वर्ष २०७९।८० को नीति,कार्यक्रम तथा बजेट

२०७९ अषाढ १०, शुक्रबार प्रकाशित ( साल अघि) ५६६ पाठक संख्या

मोहन पौडेल
परासी, १० असार । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाको ११ औँ नगरसभा सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले आगामी आर्थिक वर्ष २०७९।८० को वार्षिक बजेट,नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।
सुनवल नगरपालिकाले आगामी आर्थिक वर्षमा महिला,शिक्षा,स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । एघारौँ नगर सभामा नगर प्रमुख बिमला अर्यालले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुनवलको समृद्धि र नगरवासीको खुशीमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम ल्याएको बताउँदै नगरको समग्र दीगो विकास र समृद्धिले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख अर्यालका अनुसार सुनवलका महिलाको सर्वांगिण विकासको लागि नगर प्रमुख महिला उत्थान कार्यक्रम सञ्चालन गरिनुका साथै आगामी पाँच वर्ष भित्र महिला हिंसा मुक्त नगर बनाउने अभियानका साथ कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
महिलालाई हिंसा मुक्त बनाउँदै सीप तथा क्षमता विकास गरी उद्यमशील र आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो । सुनवलमा सुविधासम्पन्न नगर अस्पताल निर्माण कार्य आगामी वर्षदेखि नै निर्माण शुरु हुने भएको छ भने मृगौला पीडितका लागि नगरमै डायलाईसिस सेन्टर स्थापना गरिने नगर प्रमुख अर्यालले बताउनुभयो ।
आगामी साउनदेखि मासिक पाँच हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्तालाई निःशुल्क खानेपानी उपलब्ध गराईनेछ भने आगामी वर्षदेखि विपन्न नागरिकलाई निःशुल्क धारा जडानको व्यवस्था गरिने भएको छ । सुनवल वडा नं.४ मा बहुउद्देश्यीय ल्यान्डफिल साईट निर्माण कार्य आगामी आर्थिक वर्षदेखि नै शुभारम्भ गरिने भएको छ भने रोजगारी सिर्जनाका लागि एक व्यक्ति, एक तालिम एक व्यवसाय कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख अर्यालले बताउनुभयो ।
कृषकहरुलाई अर्गानिक खेती प्रणालीमा आकिर्षत गर्न विभिन्न कार्यक्रम ल्याउनुका साथै कृषि एम्बुलेन्सको व्यवस्था गरिने भएको छ । नगरका विभिन्न स्थानलाई पटेक क्षेत्रको रुपमा विकास गरी कृषि उत्पादनको संकलनका लागि कृषि उपज संकलन तथा बजारीकरणका लागि कृषि बजारको विस्तार गर्ने नीति पनि लिईएको छ ।
वृहत सडक गुरुयोजना बनाएर नगर भित्रका सडकहरुको स्तरोन्नती गरिनेछ भने चक्रपथ निर्माण गर्ने नीति लिईएको छ । सवै वडाको आफ्नै भवनमार्फत सेवा प्रवाह गर्ने लक्ष्य लिईएको छ भने हिलोमुक्त अभियानलाई निरन्तरता दिईनेछ । सुनवलमा बसपार्क, अटो भिलेज र पार्किङ् निर्माण तथा व्यवस्थित गरिने नगर प्रमुख अर्याल बताउनुहुन्छ । प्राविधिक शिक्षा, विद्यालयहरुको भौतिक र शैक्षिक गुणस्तर वृद्धिमा विशेष जोड दिईएको छ । नदीजन्य प्राकृतिक स्रोतको दीगो उपयोगको नीति कार्यान्वयन गरिने भएको छ भने सेवाप्रवाह छिटो छरितो र सहज बनाउन तथा सुशासन कायम गर्न विशेष प्राथमिकता दिईने भएको छ ।
सुनवल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ९६ करोड, ३९ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुर्य दुवेले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ रु ४१ करोड,८५ लाख ६९ हजार र पुँजीगत खर्च तर्फ रु ५४ करोड ५३ लाख ५७ हजार रहेको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस