२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मलेरिया निवारण लक्ष्य उन्मुख : पश्चिम नवलपरासीमा मलेरियाका तीन जना आयातीत बिरामी फेला

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) ८६८ पाठक संख्या

मोहन पौडेल 
परासी, १२ वैशाख । पश्चिम नवलपरासीमा तीन जना मलेरिया (ओैलो)का आयातीत बिरामी फेला परेका छन् । उनीहरू तीनै जना सुनवल नगरपालिकाका हुन् ।
चालू आवको हालसम्म गरिएको करिव साढे ११ सय कीट परिक्षणको क्रममा आयातीत मात्रै बिरामी भेटिएको स्वास्थ्य कार्यालय परासीका मलेरिया निरिक्षक देवीलाल पौडेलले दैनिक २४ खबरलाई जानकारी दिनुभयो । उनीहरू भारतबाट फर्किएका  बिरामी हुन् ।
सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि नेपालका अनुसार सुनवल- ४ बेलारीमा दुई जनामा र सुनवल- ७ पाल्पा सिमेन्टमा कार्यरत एक जना मजदुरमा मलेरिया भेटिएको हो ।
गत आवमा पनि जिल्लामा तीन जना मलेरियाका बिरामी फेला परेका थिए । हाल पश्चिम नवलपरासी जिल्ला मलेरियाको न्युन जोखिममा परेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।
सन् २०२५ सम्म नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्‍याउने संकल्पका साथ औलो निवारण कार्यक्रमलाई नेपाल सरकारको प्राथामिकता प्राप्त कार्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो । मलेरिया निवारणका लागि स्थानीय बिरामी शुन्य हुनुपर्छ । नेपाल त्यसको लक्ष्यमा पुग्न लागेको छ ।
 निर्धारित समयमा नेपाललाई औलो मुक्त अवस्थामा पुर्‍याउन नेपाल सरकारको उच्चस्तरीय प्रतिबद्धता रहेको छ, साथै सम्पूर्ण सरोकारवालाहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरु एवं संचारकर्मीहरुको सहयोग रहँदै आएको र आगामी दिनमा पनि रहने उहाँको विश्वास छ ।
उहाँका अनुसार यसका लागि नेपाल सरकार मातहतमा रहेका स्वास्थ्य संस्थाहरु मार्फत औलोको निःशुल्क परीक्षण तथा उपचार भइरहेको छ साथै औलो रोग लागेका बिरामीको खोजपड्ताल गर्ने कार्यलाई तीव्र रुपमा अघि बढाइएको छ। जसमा बिरामीको बासस्थानमा गई उनीहरुको आवश्यक विवरण लिनुका साथै उनीहरुसँगै बसोबास गर्ने परिवार तथा छरछिमेकको समेत औलो परीक्षण गरिंदै आएको छ। औलोको उच्च तथा मध्यम जोखिमयुक्त वडाहरुमा बसोबास गर्ने व्यक्तिहरुलाई प्रत्येक ३ वर्षमा र गर्भवती महिलाहरुलाई नियमित रुपमा निःशुल्क कीटनाशकयुक्त झूलको वितरण गरिंदै आएको छ।
पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त मेसु डा. मोहम्मद नुरुल होदाका अनुसार मलेरिया  एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। औलो रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा परजीवि पनि चुस्छ र लामखुट्टे संक्रमित हुन्छ। त्यही संक्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा औलो (मलेरिया) सर्छ। स्थानीय रुपमा औलो रोग सार्ने लामखुट्टे नभए पनि समुदायमा बिरामीमा औलो रोग भएमा वा त्यो बिरामी आफ्नो घर छोडी टाढा जाँदाको अवस्थामा संक्रमण भएर आएको अवस्थालाई आयतित औलो भनिन्छ। यो लामखुट्टेले टोकेको एक साताभित्र रोगको लक्षण देखिन थाल्छ। औलो रोग लागेमा कलेजो, मिर्गौला तथा मस्तिष्क जस्ता अंगमा असर गर्ने र कतिपय अवस्थामा बिरामीको ज्यान समेत जान सक्छ। गर्भवती महिलालाई औलो लागेर समयमा उपचार नभएमा गर्भपतन हुने र आमाको मृत्यु समेत हुन सक्छ।
औलोको संक्रमण भएपछि काम ज्वरो आउने, पसिना आउने तथा बेहोस हुने जस्ता मुख्य लक्षण देखिन्छन्। यी लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा पुग्न डा. होदाले आग्रह गर्नुभयो ।
सरकारले तीन वर्षभित्र नेपालबाट औलोलाई शून्यमा पु¥याउने र सन् २०२५ मा औलो निवारण घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व ओैलो दिवसको अवसरमा आज स्वास्थ्य कार्यालयले परासीमा सरोकारवालाहरुसँग अन्तर्किया गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी , गैसस महासंघका जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाही , स्वास्थ्यकर्मी ,सञ्चारकर्मी लगायतको सहभागिता थियोे ।
औलो रोगको लक्षणहरु
– काम ज्वरो आउने
– कलेजोमा असर गरी पेट सुन्निने
– खलखली पसिना आउने
– टाउकोमा असर गरेमा मस्तिष्क ज्वरो आउने
– रक्तअल्पता हुने
औलोबाट कसरी बच्ने ?
– हात–खुट्टा छोप्ने गरी पूरा बाहुला भएको लुगा लगाएर हिँड्ने
– शरीरको खुला भागमा किटनाशक मलम लगाउने
– घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने
– सुत्ने बेलामा झुलको प्रयोग गर्ने
– घर, गाउँ समुदाय सफा राखी लामखुट्टे हुर्किन नदिने
– घरवरिपरि पानी जम्ने खाडल पुर्ने
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस