२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एमाले,काङ्ग्रेस तीन/तीन र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित ( साल अघि) १०५० पाठक संख्या

मोहन पौडेल
परासी, ६ जेठ (रासस) – स्थानीय तह निर्वाचन २०७९ मा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा नेकपा एमाले र नेपाली काङ्ग्रेसले तीन÷तीन र माओवादी केन्द्रले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा काङ्ग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्र र राप्रपाले एक÷एक स्थानीय तहमा जितेका छन् ।
पाल्हीनन्दन गाउँपालिकाको मतगणना आज बिहान सकिएसँगै जिल्लाका सात वटै स्थानीय तहको मतगणना सकिएर नतिजा सार्वजनिक भएको हो । अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको नेपाली काङ्ग्रेसले यसपटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यसपटक थप एक जोड्न सफल भएको छ । माओवादी केन्द्रले भने एउटा स्थानीय तह जितेकोमा अहिले पनि दोहोराएको छ ।
उपप्रमुखमा यसअघिको निर्वाचनमा काङ्ग्रेसले चार स्थानीय तहमा जितेकोमा यसपटक तीनवटामा खुम्चिएको छ भने एमालेले अघिल्लो पटक तीन स्थानीय तहमा जितेकोमा यसपटक दुईमा झरेको छ । माओवादी केन्द्रल भने अघिल्लो पटक उपप्रमुखमा विजयी हासिल नगरेपनि यसपटक एउटा स्थानीय तहको उपप्रमुखमा बाजी मारेको छ । अघिल्लो पटक नेतृत्वमै नरहेको राप्रपाले पनि यसपटक एउटा स्थानीय तहको उपप्रमुख जित्न सफल भएको छ ।
जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एमालेले रामग्राम नगरपालिकामा प्रमुख, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा प्रमुख, उपप्रमुख दुवै जितेको छ भने काङ्ग्रेसले बर्दघाट नगरपालिकामा प्रमुख,पाल्हीनन्दन गाउँपालिकामा उपप्रमुख,प्रतापपुर र सुस्ता गाउँपालिकामा प्रमुख,उपप्रमुख दुवै जितेको छ । माओवादी केन्द्रले पाल्हीनन्दन गाउँपालिकाको प्रमुख र बर्दघाट नगरपालिकाको उपप्रमुख जितेको छ भने राप्रपाले रामग्राम नगरपालिकाको उपप्रमुख जितेको छ ।
अघिल्लो निर्वाचनमा एमालेले बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा प्रमुख, उपप्रमुख तथा सुनवल नगरपालिकामा उपप्रमुख जितेको थियो भने काङ्ग्रेसले रामग्राम,सरावल,प्रतापपुरमा प्रमुख,उपप्रमुख,सुनवल नगरपालिकामा प्रमुख र पाल्हीनन्दनमा उपप्रमुख जितेको थियो । सरावलको प्रमुख तत्कालिन फोरम लोकतान्त्रिकबाट विजयी भएपनि पछि काङ्ग्रेसमा समाहित भएका थिए ।
यसपटकको निर्वाचनमा रामग्राम नगरपालिकामा काङ्ग्रेसका नरेन्द्र गुप्तालाई पराजित गर्दै एमालेका धनपत यादव नगर प्रमुख निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा एमालेकी लक्ष्मी क्षेत्रीलाई पराजित गर्दै राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको छ । सुनवल नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका अर्जुन पोखरेललाई हराउँदै एमालेकी बिमला अर्याल र उपप्रमुखमा माओवादी केन्द्रका लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्य दुवे विजयी हुनुभयो ।
बर्दघाट नगरपालिकामा नेकपा एमालेका धीरज शर्मा बस्याललाई पराजित गर्र्दै नेपाली काङ्ग्रेसका शम्भुलाल श्रेष्ठ नगर प्रमुखमा निर्वाचित हुनुभएको छ भने उपपप्रमुखमा सुर्य चिन्हबाट उम्मेदवार रहनुभएकी जनमुक्ति पार्टीकी तारा रानालाई हराउँदै माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी हुनुभयो ।
पाल्हीनन्दन गाउँपालिकामा काङ्ग्रेसका राजेन्द्र साहनीलाई पराजित गदै माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता(दीपक) अध्यक्षमा पुनः निर्वाचित हुनुभयो भने उपाध्यक्षमा माओवादी केन्द्रकी पावित्री कोहारलाई पराजित गर्दै काङ्ग्रेसकी फातुमा खातुन अन्सारी विजयी हुनुभयो । सरावल गाउँपालिकामा काङ्ग्रेसका अनिल गौडलाई हराउँदै एमालेका सुखाडी प्रसाद चौधरी अध्यक्षमा विजयी हुनुभयो भने काङ्ग्रेसकै उत्तमा रायलाई पराजित गर्दै एमालेकी बासमति हरिजन उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
प्रतापपुर गाउँपालिकामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका करम हुसेन अन्सारीलाई पछि पार्दै काङ्ग्रेसका उमेशचन्द्र यादव अध्यक्षमा निर्वाचित हुनुभएको छ भने जनता प्रगतिशील पार्टीकै अञ्जुकुमारी चौधरीलाई पराजित गर्दै काङ्ग्रेसकी मानकुमारी चौधरी उपाध्यक्षमा विजयी हुनुभएको छ ।
सुस्ता गाउँपालिकामा नेकपा एमालेका रामप्रसाद पाण्डेलाई पराजित गर्दै काङ्ग्रेसका टेकनारायण उपाध्याय अध्यक्षमा निर्वाचित हुनुभएको छ भने एमालेकी ईन्द्रकुमारी थरुनीलाई पराजित गर्दै काङ्ग्रेसकी गीता चौधरी उपाध्यक्षमा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई लाख ३७ हजार १२५ मतदाता रहेको यस जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा ७७.७६ प्रतिशत अर्थात एक लाख ८४ हजार ३८२ मतदान भएको थियो ।निर्वाचित सातै स्थानीय तहका प्रमुखहरुले मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहमार्फत सपथ समेत खाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस