२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सरावल गाउँपालिकामा एमाले विजयी-अध्यक्षमा चौधरी, उपाध्यक्षमा हरिजन

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित ( साल अघि) १०७५ पाठक संख्या

मोहन पौडेल
परासी, ४ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी हुनुभएको हो ।
निकटम प्रतिद्धन्द्धीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै चौधरी निर्वाचित हुनुभएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गर्नुभएको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार निकटम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका अनिल कुमार गौडले चार हजार ८९ मत ल्याउनुभएको छ ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमति हरिजन विजयी हुनुभएको छ । विजयी हरिजनले पाँच हजार ७४३ मत ल्याउनुभएको छ भने उहाँकी निकटम प्रतिद्धन्द्धी निवर्तमान उपाध्यक्ष समेत रहनुभएकी नेपाली काङ्ग्रेसकी उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा हरिजनले रायलाई ३९४ मतले पछि पार्नुभएको हो ।
यसअघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालिन फोरम लोकतान्त्रिक ( पछि काङ्ग्रेसमा समाहित) र उपाध्यक्षमा काङ्ग्रेसले जितेको थियो । ७ वटा वडा रहेको यस गाउँपालिकामा दुई वटा वडामा एमाले, तीन वटा वडामा काङ्ग्रेस र एक÷एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार वडा अध्यक्षमा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा कांग्रेसका शम्भु चौधरी, वडा नं ३ मा राप्रपाका फिरंगी चौधरी, वडा नंं.४ मा एमालेका सुरेश यादव, वडा न.. ५ मा कांग्रेसका लक्ष्मण चौधरी, वडा नं. ६ मा कांग्रेसका छोटेलाल गुप्ता र वडा नं.७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया विजयी हुनुभएको छ ।
२५ हजार ९१२ मतदाता रहेको यस गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिकाका विभिन्न ३२ मतदान केन्द्रबाट २१ हजार २२ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस