२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

वडा र पालिका तहका उम्मेदवार सिफारिस गर्न एमाले नवलपरासीको निर्देशन

२०७८ चैत्र २४, बिहिबार प्रकाशित ( साल अघि) ११४८ पाठक संख्या

परासी, २४ चैत । नेकपा एमाले पश्चिम नवलपरासी आसन्न स्थानीय तह निर्वाचन २०७९ को तयारीमा जुटेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँग एमाले जिल्ला कमिटीको आज बर्दघाटमा सम्पन्न दोस्रो पूर्ण बैठकले पनि निर्वाचन केन्द्रीत निर्णयहरु गरेको जनाएको छ ।
एमाले जिल्ला उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजन कुमार आचार्यका अनुसार वडा तहका उम्मेदवारको लागि चैत २७ गते भित्र र पालिका तहका उम्मेदवारको लागि चैत २८ गते भित्र उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरुलाई निर्देशन गरिएको छ ।
एमालेले आगामी बैशाख ९ गते नेकपाको स्थापना दिवसको अवसर पारेर पार्टीको स्थानीय निर्वाचन घोषणापत्र तथा सात वटै स्थानीय पालिका र ७४ वटै वडाको प्रतिबद्धता पत्र जिल्लाका सातै स्थानीय तहमा एकैसाथ सार्वजनिक गर्ने निर्णय गरेको आचार्यले बताउनुभयो ।
एमालेले बुद्धिजीवि परिषद्मा आवद्ध सदस्यहरुलाई स्थानीय पालिकाको प्रतिबद्धता पत्र निर्माणमा सहजीकरण गर्न निर्देशन दिएको छ भने बैशाख ९ गते नै अग्रज सेल्टरदाताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको जनाईएको छ ।
बैठकले स्थानीय निर्वाचनका लागि जिल्ला कमिटी, स्थानीय पालिका कमिटी, जिल्लास्थित जनवर्गीय संगठनका जिल्ला सदस्यहरु, तथा वडा कमिटीका सबै सदस्य रहको तीन हजार ५०५ सदस्यीय जिल्ला स्तरीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
चैत २१ गतेको जिल्ला सचिवालयको बैठकको निर्णय अनुसार एमाले जिल्ला सचिवालय सदस्यमा सरिता पौडेल,जिल्ला कमिटी सदस्यमा उत्तमध्वज केसी,भगवती यादव,केशव खत्रीलाई मनोनयन गरेकोमा आजको बैठकले अनुमोदन गरेको छ भने उहाँहरुलाई सपथ पनि गराईएको उक्त पार्टीले जनाएको छ ।
नेकपा एसबाट फर्किएका कृपाललाल यादवलाई पनि जिल्ला सचिवालय सदस्यमा मनोनित गरिएको तर आजको बैठकमा अनुपस्थित रहेकोले सपथग्रहण हुन नसकेको प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज बैजनाथ चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला कमिटी अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सरिता खनाल, केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज बिमला अर्याल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल,प्रदेश कमिटीका सदस्यहरु लगायतको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%

प्रतिक्रिया दिनुहोस