२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बाढी जोखिम न्यूनीकरणका लागि नदीको शिल्ट सफाइ गर्दै पाल्हीनन्दन गाउँपालिका

२०७८ चैत्र ६, आईतबार प्रकाशित ( साल अघि) ११५८ पाठक संख्या

परासी, ६ चैत । बाढीको जोखिम न्यूनीकरण गर्न पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले नदीको शिल्ट सफाइ अभियान थालेको छ । वर्षातमा झरही नदीका कारण हुने बाढीलाई नियन्त्रण गर्न नदीमा जम्मा भएको शिल्ट सफाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो ।
वर्षातको समयमा पाल्हीनन्दनको विशेषगरी शंकरपुरसहित विभिन्न क्षेत्र डुबान हुने गरेको छ । डुबानका कारण सयौँ विघामा लगाईएको धानबाली नष्ट हुनुका साथै स्थानीयवासी पनि विस्थापित हुने गरेका छन् ।
वर्षात आउनु भन्दा पहिले नै नदी नियन्त्रण गरी बाढीको जोखिम न्यूनीकरण गर्न गाउँपालिकाले सीमित स्रोत साधनका बाबजुद नदी सफाइ कार्य गरिरहेको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । बाढीका कारण हुने धनजनको क्षति रोक्न शिल्ट सफाई गरिरहेको र अस्थायी बाँध निर्माण गरिएको उहाँले बताउनुभयो । अध्यक्ष गुप्ता आफै खटेर सफाइ अभियान सञ्चालन गर्नुभएको छ ।
यसका लागि बजेट नभए पनि भविष्यमा हुने क्षतिलाई मध्यनजर गर्दै सफाइ अभियान चलाएको अध्यक्ष गुप्ताले बताउनुभयो । नदी सफाईबाट निस्कने नदीजन्य पदार्थ बाँध निर्माणमा प्रयोग गरिएको उहाँको भनाई छ । नदीमा अवरोध नहुने स्थिति भएपछि पानीले आफ्नो धार परिवर्तन नगर्ने भएकोले बाढी केही मात्रामा भएपनि नियन्त्रण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
७० वर्ष भन्दा अघि देखिको यो समस्या समाधानका लागि प्रत्येक वर्ष राहत दिएर मात्र नहुने भएकोले चुनौती भएपनि नदी नियन्त्रणको काम गाउँपालिकाबाटै गरेको अध्यक्ष गुप्ताले बताउनुभयो । बाढीबाट नागरिकलाई बचाउन पहल गरिएको बताउनुभयो । सधैँ बाढीको समस्या भोग्दै आएका स्थानीयवासीले गाउँपालिकाले थालेको अभियानले राहत पुग्ने भन्दै खुशी भएको स्थानीयवासी राजपुत मल्लाहले बताउनुभयो ।
स्थानीयवासी राममिलन दासले गाउँपालिकाले थालेको अभियानले वर्षाेँदेखि धनजनको क्षति व्यहोर्नुपर्ने अवस्थाको यसपटक अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस