२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

ग्याँस उद्योग मापदण्डमै सञ्चालन, किराना पसलमा लेभल नभएका सामान

२०७८ फागुन ३०, सोमबार प्रकाशित ( साल अघि) १२९७ पाठक संख्या

मोहन पौडेल
परासी, ३० फागुन । पश्चिम नवलपरासीमा सञ्चालित ग्याँस उद्योगहरु मापदण्ड अनुसार नै सञ्चालनमा रहेको पाईएको छ । आईतबार जिल्ला बजार अनुगमन समिति पश्चिम नवलपरासीले गरेको छड्के अनुगमनको क्रममा ग्याँस उद्योगहरु मापदण्ड अनुसार नै सञ्चालनमा रहेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा खटिएको टोलीले जिल्लामा सञ्चालित ग्याँस उद्योग र सदरमुकाम परासीका विभिन्न खाद्यन्न पसलहरुको अनुगमन गरेको हो ।
रामग्राम नगरपालिका वडा नं. १० मा सञ्चालित आरती ग्याँस उद्योग र सगरमाथा ग्याँस उद्योगको अनुगमन गरिएकोमा दुवै उद्योग मापदण्ड अनुसार नै सञ्चालनमा रहेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । ग्याँस उद्योगमा अपनाउनुपर्ने सुरक्षाका उपाय, दर्ता, नवीकरण सहित ग्याँस सिलिण्डरको तौल मापन गरी जाँच गरिएको थियो ।
दुवै उद्योगले बजारमा पठाउन लागेको ग्याँस सिलिण्डरको तौलमा कमी नदेखिएको बरु बढी नै देखिएको अनुगमन समितिले जनाएको छ। अनुगमन समितिले परासी बजारका विभिन्न चार वटा खाद्यन्न पसल र एउटा कोसेली घरको पनि अनुगमन गरेको हो ।
खाद्यन्न पसलहरुबाट म्याद गुज्रेका, लेभल नभएका वस्तुहरु भेटिएकोले जफत गरी नष्ट गरिएको अनुगमन टोलीका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो । आगामी दिनमा यस किसिमका वस्तु विक्री नगर्न सचेत गराउँदै अटेरी गरे कारवाही गर्ने चेतावनी दिईएको प्रमुख पाण्डेले बताउनुभयो ।
यसैगरी अनुगमनको क्रममा अधिकांश पसलहरुमा नापतौलका यन्त्रहरु नवीकरण नभएको तथा दर्ता प्रमाणपत्र पनि नभएको भेटिएकोले तत्काल नापतौलका यन्त्रको कागजात नवीकरण गर्न निर्देशन दिइएको अनुगमन टोलीका सदस्य एवं गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक दिपेन्द्र रोकायाले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा रहेको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पाण्डे, नापतौल तथा गुणस्तर कार्यालय बुटवलका निरीक्षक दिपेन्द्र रोकाया, करदाता सेवा कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पन्थी,उद्योग वाणिज्य संघ नवलपरासीका महासचिव गिरीराज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका सदस्य गौरीशंकर जयसवाल लगायतको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम सहजकर्ता मनोज चौधरीले बताउनुभयो ।लामो समय देखि बजार अनुगमन नभएको भन्दै पटकपटक उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस