२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जिल्ला रेडक्रसको सभाहल बन्दै, गाउँपालिका अध्यक्ष चौधरीद्धारा शिलान्यास

२०७८ फागुन २९, आईतबार प्रकाशित ( साल अघि) १३१९ पाठक संख्या

 

मोहन पौडेल
परासी,२९ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको आफ्नै सभाहल निर्माण हुने भएको छ । रेडक्रस जिल्ला शाखाको कार्यालय परासीको कम्पाउण्ड भित्रै निर्माण हुने उक्त सभाहल सरावल गाउँपालिकाको सहयोगमा निर्माण हुन लागेको हो ।

निर्माण हुन लागेको सभाहलको आज एक कार्यक्रमकाबीच सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले शिलान्यास गर्नुभयो । अध्यक्ष चौधरीले मानवीय सेवा र विपद् व्यवस्थापनमा रेडक्रसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले मानवीय सेवामा समर्पित रेडक्रस अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभाहल निर्माणका लागि यस वर्ष सरावल गाउँपालिकाले रु पाँच लाख उपलब्ध गराएको र आगामी वर्षमा पनि थप बजेट सहयोग गर्ने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो। एक सय २५ जना अटाउने क्षमताको सभाहल आगामी वर्षसम्ममा निर्माण सम्पन्न हुने सभापति अग्रहरीले बताउनुभयो ।

उक्त अवसरमा सरावल गाउँपालिकाबाट सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेललाई सम्मान गरिएको थियो भने नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई स्वागत सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको रेडक्रसका जिल्ला सदस्य अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल रेडत्रस सोसाईटी लुम्बिनी प्रदेश सदस्य हैदर अलि मोमिन, जिल्ला उपसभापति कृष्णप्रसाद लामिछाने, सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, रेडक्रसका जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ता लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस