२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाटमा फागुन १३ गतेदेखि पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने

२०७८ फागुन ६, शुक्रबार प्रकाशित ( साल अघि) ८६४ पाठक संख्या

मोहन पौडेल
बर्दघाट,६ फागुन । पश्चिम नवलपरासीको बर्दघाटमा यही फागुन १३ देखि पाँचौ बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । बर्दघाट उद्योग वाणिज्य संघले यही फागुन १३ देखि २५ गतेसम्म बर्दघाटको हरियाली नगरमा मेला सञ्चालनको तयारी गरेको हो ।
यसअघि गत पुस २९ देखि माघ ९ गतेसम्म मेला आयोजना गर्ने भनिएपनि कोरोना महामारीको तेस्रो लहर सुरु भएपछि अन्तिम समयमा आएर स्थगित भएको थियो . बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले मेलाको तयारी तीव्र पारिएको बताउनुभयो ।
कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न, यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल र जैविक विविधताको संरक्षण गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास गर्न एकैथलोबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारसम्म औद्योगिक लघु उद्यम तथा कृषि र अन्य उत्पादनहरुको बजार विस्तार गर्न उपभोक्तालाई मुलुक भित्रै किनमेल गर्ने बानिको विकास गराउन मेलाले टेवा पुर्याउने उहाँको भनाई छ ।कोरोना कहरका कारण प्रभावित आर्थिक क्षेत्र मेलाका कारण केही मात्रामा चलायमान हुने आयोजकले विश्वास लिएको छ ।
उपभोक्ताबीच स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरुको चाहना जानकारी उत्पादन तथा सेवा प्रति विस्वास अभिवृद्धि गर्ने, राष्ट्रिय स्तरमा उत्पादनको बजार प्रवद्र्धन गर्ने, देशभरिका व्यवसायीहरुबीच आपसी समन्वयको भावना जागृत्त गराउने, व्यवसायीहरुबीचको अवसर, समस्या र चुनौतिबारे अन्तृक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि, लघु तथा घरेलु उद्यमहरुको बजार प्रवद्र्धन गर्ने, यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने मेलाको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उक्त व्यापार मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकला उत्पादन, अटोमोबाईल्स, ईलेक्टोनिक्स, तथा ईलेक्ट्रिकल्स, मोवाईल सूचना प्रविधि, फर्निचर, तथा फर्निसिंगको सामग्री, निर्माण सामग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
दुई सय स्टल रहने उक्त मेलामा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अपांगता भएका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । विद्यार्थीलाई टिकटमा सहुलियत दिईनेछ भने कृषि र महिला उद्यमीलाई स्टल निःशुल्क प्रदान गरिने बर्दघाट उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस