परासी, १ फागुन । २७ औँ जनयुद्ध दिवसको अवसरमा वाईसीएल नेपाल पश्चिम नवलपरासीले रक्तदान कार्यक्रम गरेको छ । वाईसीएल जिल्ला कमिटीको आयोजनामा पाल्हीनन्दन गाउँपालिका स्थित पाल्हीनन्दन अस्पताल लोहरौलीमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए भने ५ जना नेगेटिभ रक्तसमूह पनि भेटिएको आयोजकले जनाएको छ । वाईसीएलका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य दीपक रानाको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वाईसीएल केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज निर्मला केसी, जिल्ला सदस्य मोहन सापकोटा, बर्दघाट नगर अध्यक्ष हरि ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस्तै जनयुद्ध दिवसकै अवसरमा पूर्व जनमुक्ति सेना नेपाल पश्चिम नवलपरासीले पनि आज सुनवलको वनकट्टीमा पुर्नमिलन कार्यक्रम गरेको छ । कार्यक्रममा पूर्व जनमुक्ति सेनाहरु तथा नेकपा माओवादी केन्द्रका नेताहरुको सहभागिता रहेको पूर्व जनमुक्ति सेना एवं माओवादी केन्द्रका प्रदेश सदस्य अडिग विकले जानकारी दिनुभयो ।