२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

लुम्बिनी प्रदेशका शिक्षा मन्त्रीले बजेट बाँडफाँडमा मदरसालाई विभेद गरेको आरोप

२०७८ माघ २४, सोमबार प्रकाशित ( साल अघि) १२४५ पाठक संख्या

परासी, २४ माघ । लुम्बिनी प्रदेश सरकारले धार्मिक विद्यालय मदरसालाई बजेट विनियोजन गर्दा विभेद गरेको पश्चिम नवलपरासीका मदरसा सञ्चालकहरुले आरोप लगाएका छन् । लुम्बिनी प्रदेशका शिक्षा मन्त्री बसीउद्दिन खाँले आफ्नो पार्टी निकटका मदरसालाई मात्रै बजेट विनियोजन गरेको उनीहरुको आरोप छ ।
फैजाने अहले बैत संस्थाले परासीमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रदेशका शिक्षा मन्त्रीले बजेट विनियोजनमा विभेद गरी सुन्नी समुदायले सञ्चालन गरेका मदरसालाई बजेट नै विनियोजन नगरेको आरोप लगाएको हो ।
संस्थाका अध्यक्ष सैयद गुलाम हुसेनले प्रदेश सरकारको यस किसिमको कार्य तत्काल नसच्चिए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । नवलपरासीका धेरै मदरसाले बजेटका लागि आवेदन दिएकोमा बजेटको आवश्यकता नै नभएको मदरसामा शिक्षा मन्त्रीले बजेट दिएको र आर्थिक हिसावले कमजोर मदरसालाई बजेट नदिएको अध्यक्ष हुसेनले बताउनुभयो ।
उहाँले शिक्षा मन्त्रीले सुन्नी मुसलमान समुदायले सञ्चालन गरेका मदरसालाई बजेट नै नदिएको दाबी गर्नुभयो । पश्चिम नवलपरासीमा ४२ वटा मदरसा नेपाल सरकारको अनुमति लिएर सञ्चालनमा छन् ।
ती मदरसामा सरकारी विद्यालय सरह नेपाल सरकारका पाठ्यक्रम र धार्मिक शिक्षा समेत प्रदान गर्ने गरिएको संस्थाका सल्लाहकार हैदर अलि मोमिनले बताउनुभयो । तर सरकारले बजेट बाँडफाँड गर्दा विभेद गरेकोले मदरसा सञ्चालनमै समस्या भएको बताउनुभयो । पहुँचको आधारमा बजेट विनियोजन गर्दा अधिकांश मदरसा धरासायी हुने बताउँदै उहाँले प्रदेश सरकारले यस किसिमको निर्णय तत्काल सच्चाउनुपर्ने माग गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%१%३%५%

प्रतिक्रिया दिनुहोस