२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

सुनवलका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी पुनःताजगी तालिम

२०८१ जेष्ठ २४, बिहिबार प्रकाशित ( महिना अघि) ११९ पाठक संख्या

परासी, २४ जेठ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई उपेक्षीत उष्ण प्रदेशीय रोगहरु सम्बन्धी पुनःताजगी तालिम प्रदान गरिएको छ । ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट पञ्चनगर र फेयर मेडको आर्थिक सहयोगमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजना र सुनवल नगरपालिकाको आयोजनामा नगरका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम दिईएको हो ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीको अध्यक्षता तथा नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नगर प्रमुख अर्यालले उष्ण प्रदेशीय रोगको पहिचान र रोकथाममा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उष्ण प्रदेशीय रोगहरु फैलिने क्रम तीव्र रहेको बताउँदै उहाँले यस्ता रोगका कारण सामाजिक वहिष्करणमा पर्ने डरले आम नागरिकहरु सजिलै स्वास्थ्य संस्थामा उपचारका लागि नआउने भएकोले उनीहरुलाई परामर्श आवश्यक रहेको उहाँको भनाई थियो । नगरपालिकाले यस किसिमका रोगहरुको निदानका लागि विशेष प्राथमिकता दिएको मेयर अर्यालले उल्लेख गर्नुभयो ।
उष्ण प्रदेशीय रोगको उपचार सेवाको विषयमा यसअघि नै तीन दिनको तालिम लिएका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि, अध्यावधिक एवं अनुभव आदानप्रदान गर्ने उद्देश्यले उक्त तालिम गरिएको ईन्द्रेणी सामाजिक विकास मञ्चका सूचना अधिकारी एवं आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा उष्ण प्रदेशीय रोगको विषयमा थप सिकाई हासिल गर्न चाहने स्वास्थ्यकर्मीहरुलाई प्रश्नोत्तरको माध्यमबाट सहजीकरण गरिएको थियो । कार्यक्रममा डा.विष्णु विश्वकर्माले सहजीकरण गर्नुभएको परियोजनाका सामाजिक परिचालक बसन्त सापकोटाले जानकारी दिनुभयो । कुष्ठरोग, हात्तिपाईले, डेँगु, सर्पदंश लगायतका रोगहरु उष्ण प्रदेशीय रोग अन्तरगत पर्दछन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस